सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा उद्योगमा अन्तर्राष्ट्रिय दृष्टिकोणसहित अर्को महत्वाकांक्षी परियोजनाको घोषणा गरिएको छ। स्याडो पिक्चर्सको ब्यानरमा निर्माण हुने ‘बम्पर चिठ्ठा’ को थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा निर्माण घोषणा गरिएको हो। सिनेमालाई निर्देशक बिक्की महर्जनले निर्देशन गर्नेछन् भने अमित अग्रहरि र निशा गुइदे निर्माता रहेका छन्।
नेपाली मौलिक कथा, संस्कृति र समकालीन मनोरञ्जनलाई विश्वसामु प्रस्तुत गर्ने उद्देश्यका साथ यो सिनेमा निर्माण गर्न लागिएको निर्माण टिमले जनाएको छ। सार्वजनिक गरिएको थिम पोस्टरले नेपालको सांस्कृतिक सम्पदा र रहस्यमय वातावरणको झल्को दिन्छ। प्राचीन मन्दिरको शिखरबाट तलको चहलपहल नियालिरहेको दृश्यले कथाप्रति उत्सुकता जगाउने प्रयास गरेको छ। पोस्टरले सिनेमाको कथावस्तुबारे धेरै कुरा खुलाएको छैन, तर नेपाली समाज, संस्कृति र मानवीय सम्बन्धलाई रोचक शैलीमा प्रस्तुत गरिने संकेत भने स्पष्ट रूपमा दिएको छ।
सिनेमा नेपाली, हिन्दी, तेलुगु र फ्रेन्च गरी चार भाषामा निर्माण हुनेछ र विश्वव्यापी रूपमा अमेजन प्राइम भिडियोमार्फत प्रदर्शन गरिनेछ। यसमार्फत सिनेमा २४० भन्दा बढी देशमा रहेका दर्शकमाझ पुग्ने विश्वास निर्माण टिमको छ। नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा थप मजबुत रूपमा स्थापित गर्ने दिशामा यो परियोजना महत्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ।
सिनेमाको कथा निर्देशक महर्जन स्वयंले लेखेका हुन्। कलाकार तथा अन्य प्राविधिक टोलीबारे विस्तृत जानकारी भने आगामी चरणमा सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ। यसैबीच, यही टिमले निर्माण गरेको सिनेमा ‘आउट ल’ आगामी सेप्टेम्बरमा अमेजन प्राइम भिडियोमार्फत विश्वव्यापी रूपमा रिलिज हुँदैछ। ‘आउट ल’को प्रदर्शनपछि ‘बम्पर चिठ्ठा’ निर्माणको काम तीव्र गतिमा अघि बढाइने निर्माण टिमले जानकारी दिएको छ।
‘बम्पर चिठ्ठा’ केवल एउटा कमेडी सिनेमा मात्र नभई नेपाली सिनेमालाई विश्व बजारमा थप सशक्त रूपमा स्थापित गर्ने लक्ष्य बोकेको महत्वाकांक्षी परियोजनाका रूपमा हेरिएको छ।
