विजय बरालको घाइते भएपछि रोकिएको ‘सिन्दुरे जात्रा’को छायांकन पुनः सुरु : मंसिर ४ मा रिलिज

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘सिन्दुरे जात्रा’को छायांकन पुनः सुरु भएको छ। सिनेमाका मुख्य कलाकार विजय बराल घाइते भएसँगै रोकिएको छायांकन पुनः सुरु भएको हो। छायांकनका क्रममा घोडाबाट खसेका विजयको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको थियो। उक्त चोट निको भएसँगै बाँकी छायांकन धमाधम भइरहेको छ।

जेठ १ गतेदेखि पर्वतको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कबाट सिनेमाको छायांकन सुरु भएको थियो। १५ दिन छायांकन भएपछि विजय घाइते भएपछि छायांकन रोकिएको थियो। दुई साताअघि देखि सोही स्थानबाट छायांकन सुरु भएको निर्देशक सरोज पौडेलले जानकारी दिए।

“हामीले दुई सातादेखि पुनः छायांकन सुरु गरेका छौँ। केही समय छायांकन रोकिए पनि हामी फेरि उही जोस र लगावका साथ काममा फर्किएका छौँ,” उनले भने, यो बीचमा हामीले थप कसरी राम्रोसँग सिनेमा खिच्ने भनेर तयारी गर्‍यौँ। यो खाली समयलाई हामीले सदुपयोग नै गरेका छौँ।‘सिन्दुरे जात्रा’मार्फत निर्देशक सरोज पौडेल र कलाकारद्वय विजय बराल तथा अञ्जना बराइलीले दोस्रो पटक सहकार्य गरिरहेका छन्। यसअघि यो टिमले नेपाली सिनेमा इतिहासकै सर्वाधिक सफल मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेको थियो। सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यस सिनेमामा विजय र अञ्जनाका अलावा विनोद न्यौपाने, कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, पूर्व मिस नेपाल उषा खड्गीलगायतका कलाकारहरूको पनि अभिनय देख्न सकिनेछ।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको सिनेमामा निर्देशक पौडेल स्वयंको कथा छ। सिनेमाका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने आकाश, सुमन रञ्जित र श्याम मगर सह-निर्मातामा छन्। पदम बहादुर श्रेष्ठ (बाबु) डीओपी रहने सिनेमामा नहकुल खड्काको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहनेछ। रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्ने सिनेमा ‘सिन्दुरे जात्रा’ आगामी मंसिर ४ गते रिलिज हुनेछ।

सम्बन्धित समाचारसबै