सिनेसुत्र, बिराटनगर- विनयराज पौडेलको निर्देशनमा बनेको सिनेमा ‘अक्षरा’को सम्पूर्ण डिजिटल अधिकार मुभिज डिजिटेनमेन्टले खरिद गरेको छ। सम्झौताअनुसार अब यस सिनेमाका सम्पूर्ण डिजिटल सामग्रीहरू मुभिज डिजिटेनमेन्टमार्फत सार्वजनिक हुनेछन्। सिनेमाको निर्माण पक्ष र डिजिटल कम्पनीका प्रतिनिधिहरू प्रदीप धामी, पुष्कर शर्मा घिमिरे तथा आशिष तामाङबीच औपचारिक कागजी सम्झौता सम्पन्न भएको हो।
निर्देशक पौडेलका अनुसार सिनेमाको युट्युब प्रतिलिपि अधिकार बिक्री भइसकेको छ। अब दर्शकहरूले सिनेमाका गीत, ट्रेलर तथा सम्पूर्ण सामग्री सोही युट्युब च्यानलमार्फत हेर्न पाउनेछन्।
आगामी भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनको तयारीमा रहेको यस सिनेमाले अहिले नै बजारमा राम्रो चर्चा बटुलिरहेको छ। निर्माण टोली पनि प्रदर्शनलाई लिएर निकै उत्साहित देखिएको छ।
ब्लकबस्टर सिनेमा ‘१२ गाउँ’की अभिनेत्री न्यान्सी खड्का र अभिनेता सुशील सिटौलाको मुख्य भूमिका रहेको सिनेमा ‘अक्षरा’मा सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको अभिनय रहेको छ। त्यसैगरी बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गानाले पनि अभिनय गरेका छन्।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस सिनेमामा सोनी थापा (ढुङ्गाना)को प्रस्तुति रहेको छ। उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले लगानी गरेको यस सिनेमाका कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने हुन्।
यस सिनेमाको मूल कथा निर्माता उग्रसेन ढुङ्गानाले नै लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक विनयराज पौडेलले तयार पारेका हुन्।
सिनेमा ‘अक्षरा’मा सुरेन्द्र रानाको शब्द, कर्णराज गिरीको संगीत, अञ्जु पन्त, समीक्षा अधिकारी, रचना रिमाल र एसडी योगीको स्वर रहेको छ। दीपेन बस्न्यातको छायाङ्कन, रामजी लामिछानेको नृत्य निर्देशन तथा शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको यस सिनेमालाई नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्दैछन्।