देश बदल्न एक ‘हली’ नै काफी : ओम प्रतिकको सशक्त सिनेमा ‘हली’को ट्रेलर रिलिज

0 Shares

सिनेसुत्र, बिराटनगर- यही साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘हली’को ट्रेलर रिलिज भएको छ। शुक्रबार निर्माण टिमले एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत रिलिज भएको ट्रेलरमा छाउप्रथामा आधारित कथा प्रस्तुत गरिएको छ। ट्रेलरमा महिनावारी हुँदा विद्यालय जान नदिने, छाउगोठमा बस्न बाध्य बनाइने तथा २१ दिनसम्म बुबा र पुरुष सदस्यको अनुहार हेर्न नहुनेजस्ता सामाजिक कुरीतिलाई देखाइएको छ।

ट्रेलर रिलिज कार्यक्रममा निर्माता पूजा गुरुङले सिनेमा वास्तविक घटनाबाट प्रेरित भएर निर्माण गरिएको बताइन्। उनले एउटा ‘हली’ले नै देशको मुहार फेर्न सक्ने सन्देश सिनेमाले बोकेको उल्लेख गरिन्। पूजा गुरुङले भनिन्, देश परिवर्तन गर्नका लागि यही काफी छ। यहाँ नेताले भाषण गर्दैमा मात्रै देश परिवर्तन हुँदैन। निर्देशक ओम प्रतिकले चेतनाको स्तर फराकिलो बनाउन सके उच्च शिक्षा मात्रै परिवर्तनको आधार नहुने बताए।उनले भने, “पश्चिम क्षेत्रमा महिनावारी हुँदा पहिलो पटक छाउगोठमा राख्ने चलन रहेछ। त्यही यथार्थ कथामा यो सिनेमा निर्माण गरेका हौँ। चेतनालाई फराकिलो रूपमा हेर्न सकियो भने पढाइमा पीएचडी गर्नै पर्दैन। पूजा गुरुङ र जस्मिन श्रेष्ठले निर्माण गरेको यो सिनेमाको लेखन तथा निर्देशन ओम प्रतिकले गरेका हुन्।

सिनेमामा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको अभिनय रहेको छ। साथै, निर्देशक ओम प्रतिक स्वयं पनि मुख्य भूमिकामा देखिएका छन्।

यस सिनेमाको एक प्रमोसनल गीतमा अभिनेत्री दीपाश्री निरौला, पूजा शर्मा र मिथिला शर्मालगायत कलाकारको अभिनय रहेको छ। दर्शकमाझ लोकप्रिय बनेको उक्त गीतले पनि सिनेमाप्रति आकर्षण बढाउने निर्माण पक्षको विश्वास छ। जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा निर्माण भएको यस सिनेमाले देश परिवर्तनका लागि एक जना ‘हली’ नै पर्याप्त हुन्छ भन्ने सन्देश बोकेको छ।यस सिनेमामा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ। जस्मिन श्रेष्ठको शब्द तथा बाबुल गिरीको संगीत रहेको मुख्य गीतमा बाबुल गिरी र चर्चित गायिका शान्तिश्री परियारको स्वर सुन्न सकिनेछ।

सिनेमाका कार्यकारी निर्माता अर्जुन भुसाल, सह-निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्। राहुल राईको छायांकन रहेको यस सिनेमालाई रामप्रसाद चौधरी र विपिन मल्लले सम्पादन गरेका हुन् भने द्वन्द्व निर्देशन कुमार महर्जनले गरेका छन्। नेसनल सिने ग्रुप प्रालिले वितरण गर्ने सिनेमा ‘हली’को डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। ट्रेलर हेर्नुहोस :

सम्बन्धित समाचारसबै