‘बा : एक योद्धा’को मर्मस्पर्शी टिजर सार्वजनिक : रक्ताम्मे अवस्थामा देखिए दिव्यदेव

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘बा : एक योद्धा’को मर्मस्पर्शी टिजर सार्वजनिक गरिएको छ। निर्माण टिमले सार्वजनिक गरेको टिजरले एक सुखी परिवार अचानक आएको विपत्तिका कारण कसरी तहसनहस हुन्छ भन्ने भावनात्मक कथा प्रस्तुत गरेको छ।

‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’ भन्ने संवादसँग सुरु हुने टिजरमा मुख्य पात्र दिव्यदेव पन्त रगतले लत्पतिएको अवस्थामा देखिन्छन्। उनको अवस्थाले उनी कुनै ठूलो दुर्घटना वा घटनाबाट फर्किएको संकेत गर्छ। घरअगाडि पुग्नेबित्तिकै उनका विगतका सुखद क्षणहरू स्मृतिमा फर्किन्छन्, जहाँ हाँस्दै-खेल्दै गरेको परिवार र त्यसपछि आएको भयावह विपत्तिका दृश्यहरू देखाइएका छन्।

टिजरमा बाबालाई बोलाउँदै दौडिएकी छोरी, आत्तिएर भागिरहेका गाउँले तथा परिवारका सदस्यहरूको दृश्यले ठूलो दुर्घटनाको संकेत गर्छ। त्यसैबीच आउने ‘आज बाउको मुख हेर्ने दिन, तर एउटा बाले आफ्नो छोराको मुख हेर्न पाएन’ भन्ने संवादले कथाको भावनात्मक पक्षलाई अझ गहिरो बनाएको छ। त्यसपछि दिव्यदेव कतै गइरहेको, झरना थापा र सुहाना थापा रोइरहेका दृश्यहरूले कथाप्रतिको उत्सुकता बढाउँछन्।टिजरले एउटा सुन्दर परिवार कसरी संकटमा पर्छ भन्ने देखाए पनि त्यसको वास्तविक कारण भने खुलाएको छैन। पारिवारिक सम्बन्ध, त्याग, पीडा र भावनालाई केन्द्रमा राखेर निर्माण गरिएको सिनेमाले दर्शकमाझ गहिरो भावनात्मक प्रभाव छोड्ने संकेत दिएको छ।

सिनेमा ‘बा : एक योद्धा’ आगामी भदौ १९ गते प्रदर्शनमा आउनेछ। नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीलाई सिनेमाको मुख्य कथावस्तु बनाइएको निर्माण टिमले जनाएको छ। सिनेमामा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको मुख्य अभिनय रहेको छ।हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको ‘बा : एक योद्धा’ कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो। नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार, रचनाकार तथा गायक हरि लम्सालको यो पहिलो फिचर सिनेमा निर्देशन हो।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाको कथा तथा पटकथा पनि हरि लम्साल स्वयंले लेखेका हुन्। सिनेमाका निर्माता वसन्त लम्साल हुन् भने शिवराम श्रेष्ठले छायांकन गरेका छन्। मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने रहेका छन्। ‘बा : एक योद्धा’लाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ। टिजर हेर्नुहोस :

सम्बन्धित समाचारसबै