सिनेसुत्र, बिराटनगर- आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको वर्षकै प्रतीक्षित सिनेमामध्ये एक मानिएको नेपाली सिनेमा ‘बेहुली’को प्रमोशनल गीत ‘दिलमा ठाउँ छ’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमा हलमा आयोजित विशेष पत्रकार भेटघाट कार्यक्रममा लोक फ्लेभरमा आधारित यो गीत सार्वजनिक गरिएको हो। हलको ठूलो पर्दामा गीतको भिडियो प्रदर्शन गर्दै निर्माण टिमले यसलाई सिनेमाको पहिलो गीतका रूपमा दर्शकमाझ ल्याएको हो।
गीतमा सिनेमाका निर्माता समेत रहेका संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रबि ओडको स्वर सुन्न सकिन्छ। नरेश बिबिसीले गीतको मिक्सिङ तथा मास्टरिङ गरेका छन्।
गीतको भिडियोमा ‘कुल ब्वाई’का रूपमा चर्चित पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङ फिचर्ड छन्। उनीहरूको अनस्क्रिन केमेस्ट्री र आकर्षक नृत्य प्रस्तुतिलाई पत्रकार भेटघाटमै निकै रुचाइएको थियो। गीतको कोरियोग्राफी सियोन श्रेष्ठले गरेका हुन्।
कार्यक्रममा निर्माता तथा संगीतकार अर्जुन पोखरेलले यो गीत सिनेमाको प्रचार-प्रसार र प्रवर्द्धनका लागि फरक स्वादमा तयार पारिएको बताए। दर्शकहरूले गीतलाई ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न र सुन्न सक्नेछन्।
गीत सार्वजनिक भएसँगै सिनेमा ‘बेहुली’प्रति दर्शकमाझ उत्साह थपिएको छ। यसअघि सार्वजनिक गरिएको सिनेमाको फर्स्ट लुक पोस्टर सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा निकै चर्चित बनेको थियो। निर्माण पक्षले नयाँ गीतले पोस्टरबाट बनेको उत्साहलाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेको छ।
सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको सिनेमा ‘बेहुली’मा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय रहेको छ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा बनेको यस सिनेमाका प्रस्तुतकर्ता अर्जुन पोखरेल हुन्। प्रताप शमशेर राणा निर्माता रहेका छन् भने कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल तथा सह-निर्मातामा दुर्गा खरेल र शिशिर श्रेष्ठ रहेका छन्। कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन्।
सिनेमामा नरेन्द्र मैनालीको डीओपी, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको छ। मुख्य सहायक निर्देशक सुदीप कुँवर हुन् भने सहायक निर्देशकमा योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना रहेका छन्। यमप्रसाद ओली प्रोडक्सन हेड, किशोर नेपाल प्रोडक्सन डिजाइनर, राजु वाइबा मेकअप आर्टिस्ट तथा एलेक्स बासुकला पहिरन डिजाइनर रहेका छन्। सिनेमा ‘बेहुली’लाई काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन् भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ। भिडियो हेर्नुहोस :