



सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा ‘एक्टर: टेक वन’को नयाँ पोस्टर बाहिर आएको छ, जसमा अभिनेता प्रदीप खड्काको गहिरो चोट लागेको अनुहारले दर्शकलाई चकित बनाएको छ।
पोस्टरमा, खड्कालाई एक गोप्य गोदामजस्तो कोठामा ट्युबलाईटको उज्यालोमा गम्भीर अवतारमा प्रस्तुत गरिएको छ।
यो दृश्यले फिल्ममा उनको चरित्रको कठोर यात्रा र अनिश्चिततालाई प्रष्ट रूपमा देखाएको छ।
यसभन्दा पहिले सार्वजनिक पोस्टरले खड्काको विभिन्न रूपलाई उजागर गर्दै, दर्शकलाई यो चरित्रको विविधता र बहुआयामिकता बारेमा संकेत दिएको थियो। पाइलटदेखि साधारण भेसभुसासम्मको उनको प्रस्तुतीले सिनेमाको कथा भित्रका विविध आयामलाई प्रकट गरेको थियो।

‘एक्टर: टेक वन’ सिनेमामा प्रदीप खड्काका साथै राजबल्लभ कोइराला, आना शर्मा, र दिव्या रायमाझीले प्रमुख भूमिकामा छन्।
यो सिनेमाबाट दिव्या रायमाझीको डेब्यु पनि हुने भएको छ।
राजन भुसालको निर्देशनमा बनेको यो सिनेमा थमन कुमार भण्डारीले निर्माण गरेका हुन्, र यो अधृत फिल्म्सको प्रस्तुतिमा मोती फिल्म्सले तयार पारेको हो। सिनेमा तिहारको अवसरमा, कार्तिक १५ गते लक्ष्मीपूजाको दिन विश्वभर रिलिज हुने तयारीमा छ।



पोस्टरको सार्वजनिकसँगै, दर्शकको चासो र उत्सुकता थप बढेको छ।
प्रदीप खड्काको यो नयाँ अवतारले सिनेमाप्रति दर्शकलाई अझै बढी आकर्षित बनाएको छ।