सिनेसुत्र, बिराटनगर- साउनको सुरुवातसँगै प्रदर्शनमा आएको नेपाली सिनेमा ‘गौंथली’ले घरेलु बक्स अफिसमा आक्रामक व्यापारलाई निरन्तरता दिएको छ। प्रदर्शनको १० औँ दिनसम्म आइपुग्दा ‘गौंथली’ले करोडौँको व्यापार गर्दै यस वर्षकै सर्वाधिक सफल सिनेमाको दौडमा आफूलाई बलियो रूपमा उभ्याएको छ।
सिनेमा विकास बोर्डले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्क ‘सिनेपा: बक्सअफिस’ प्रणालीका अनुसार साउन १ गतेबाट प्रदर्शनमा आएको यस सिनेमाले १० दिनको अवधिमा ७ करोड ४२ लाख ७३ हजार ८ सय ५९ रुपैयाँ १४ पैसा ग्रस कलेक्सन गरेको छ।
प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको व्यापारिक आँकडासँगै सिनेमा हेर्ने दर्शकको संख्या पनि निकै उत्साहजनक देखिएको छ। १० दिनको अवधिमा देशभरका हलहरूबाट कुल २ लाख ६० हजार २५४ वटा टिकट बिक्री भएको तथ्याङ्कले देखाउँछ। सिनेमाले विशेषगरी मल्टिप्लेक्स र सिंगल स्क्रिन दुवैमा दर्शकको उल्लेख्य साथ पाइरहेको छ।
‘गौंथली’ले प्रदर्शनको दोस्रो शनिबार मात्रै १ करोड ६५ लाख रुपैयाँभन्दा बढीको ग्रस व्यापार गरेको थियो, जुन यस वर्ष कुनै पनि नेपाली सिनेमाले एकै दिन गरेको सर्वाधिक कमाइ (हाइएस्ट सिंगल डे कलेक्सन) हो। हिजो आइतबार पनि सिनेमाको व्यापारिक रफ्तारमा कमी आएन र करिब डेढ करोडको व्यापार गर्न सफल भयो। यो सिनेमाले आगामी दिनमा अझै ठूलो व्यापारिक उचाइ लिने अनुमान गरिएको छ।
हालसम्मको कमाइका आधारमा ‘गौंथली’ यस वर्षको सर्वाधिक कमाइ गर्ने दोस्रो सिनेमा बनेको छ। ‘लालीबजार’ पहिलो स्थानमा छ। ‘गौंथली’को वर्तमान व्यापारिक गतिलाई हेर्दा यसै साताभित्र १० करोडको आँकडा पार गर्दै वर्षकै नम्बर १ सिनेमा बन्ने निश्चित देखिएको छ।
पहिलो दिन औसत देखिएको हलमा त्यसपछिका दिनमा अकुपेन्सी बढेर हाउसफुलसम्म हुँदै आएको छ। कलाकारसहितको टिम हल–हलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेको छ। काठमाडौं उपत्यकासहित कलाकारहरू मोफसलका हल पुगेर दर्शकलाई भेटिरहेका छन्। दर्शकले मौलिक सिनेमा भन्दै यसको प्रशंसा गरिरहेका छन्। एउटै परिवारबाट १०-१५ जनासम्मले सिनेमा हेरिरहेका छन्। हलमा पुरुषको भन्दा महिलाको संख्या उल्लेख्य रूपमा बढी देखिने गरेको छ।
वरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा गीतकार डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशनमा बनेको यो सिनेमाले डा. कपिललाई सफल निर्देशकका रूपमा स्थापित गरिदिएको छ। ‘गौंथली’को कथावस्तु, प्रस्तुतीकरण र कलाकारको अभिनयलाई दर्शकले रुचाएका कारण नै बक्स अफिसमा यो तहको सफलता हासिल गरेको छ।
सिनेमामा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्। डा. भोला रिजालको कथामा आधारित सिनेमाको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको सिनेमाका निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन्। इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माता रहेको यस सिनेमाको कार्यकारी निर्माता सरला रिजाल हुन्।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस सिनेमामा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन तथा रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ।
‘गौँथली’ नाममा डा. भोला रिजालले दुई दशकअघि सिनेमा निर्माण गरेका थिए। उक्त सिनेमालाई नेपालको पहिलो ‘गीति सिनेमा’ (म्युजिकल सिनेमा) मानिन्छ। ‘गौँथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो। अहिले सोही नाममा डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ सिनेमा ‘गौँथली’ निर्देशन गरेका हुन्। घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको सिनेमाको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडीले गरिरहेका छन्।