भदौ २६ अघि नै ‘बेहुली’को अन्तर्राष्ट्रिय बजार कब्जा : अस्ट्रेलियादेखि बेलायतसम्म वितरण अधिकार बिक्री

0 Shares

सिनेसुत्र, बिराटनगर- नेपालमा आगामी भदौ २६ गते रिलिज हुने नेपाली सिनेमा ‘बेहुली’ले नेपालमा प्रदर्शन हुनुअघि नै अन्तर्राष्ट्रिय बजारमा आफ्नो दरिलो उपस्थिति जनाएको छ। यसको प्रमुख विदेशी बजारहरूको प्रदर्शन अधिकार पूर्ण रूपमा ‘सोल्ड आउट’ भएको निर्माण पक्षले जनाएको छ।

निर्माण पक्षले सार्वजनिक गरेका नयाँ पोस्टरअनुसार अस्ट्रेलिया, उत्तर अमेरिका, मध्यपूर्व र बेलायतजस्ता नेपाली सिनेमाका प्रमुख विदेशी बजारहरूमा सिनेमाको वितरण अधिकार बिक्री भइसकेको छ। प्राप्त जानकारीअनुसार अस्ट्रेलियाको प्रदर्शन अधिकार ‘आशिष् एन्ड नमस्ते इन्टरटेन्मेन्ट’ले खरिद गरेको छ। त्यहाँ नेपालकै मिति भदौ २६ गते सिनेमा रिलिज हुनेछ।

त्यसैगरी, अमेरिका र क्यानडा (उत्तर अमेरिका)का लागि सिनेमाको वितरण अधिकार ‘चलचित्र इन्टरटेन्मेन्ट मुभी डिस्ट्रिब्युसन’ले लिएको छ भने दुबई, कतार र बहराइनलगायतका मध्यपूर्वका देशहरूको वितरण जिम्मा ‘साथीभाइ इन्टरटेन्मेन्ट’ले पाएको छ। अस्ट्रेलिया र उत्तर अमेरिकासँगै मध्यपूर्वमा पनि सिनेमा भदौ २६ गते नै प्रदर्शनमा आउनेछ।यता, बेलायत (युके)का लागि भने प्रदर्शन अधिकार ‘९७७ इभेन्ट्स’ले खरिद गरेको छ। बेलायतमा भने सिनेमा केही सातापछि अर्थात् असोज १६ गते रिलिज हुने तय भएको छ। निर्माण पक्षले सिनेमाको प्रचारप्रसारलाई यतिबेला निकै तीव्र बनाएको छ। हालसम्म सिनेमाको ‘फर्स्ट लुक पोस्टर’ र पहिलो गीत सार्वजनिक भइसकेको छ। भर्खरै रिलिज भएको ‘दिलमा ठाउँ छ’ बोलको लोकशैलीको गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ भने इन्टरनेटमा पनि उल्लेखनीय चर्चा बटुलिरहेको छ।

रिलिज भएको केही दिनमै उक्त गीतले करिब ३० लाख युट्युब भ्युज तथा करिब ६ लाख टिकटक भिडियो प्राप्त गरिसकेको छ। सिनेमाका अन्य गीत र ट्रेलर भने सार्वजनिक हुन बाँकी छन्। सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको यस सिनेमामा पारस बम ठकुरी (कुल ब्वाइ), दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायतको अभिनय रहेको छ।द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता अर्जुन पोखरेल हुन्। प्रताप शमशेर राणा निर्माता रहेको यस परियोजनामा शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता छन्। त्यसैगरी, दुर्गा खरेल र शिशिर श्रेष्ठ सह-निर्माता तथा कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर रहेका छन्।

सम्बन्धित समाचारसबै