मदनकृष्ण श्रेष्ठ ‘मन बिनाको धन-२’मा अनुबन्धित : गीतमा पनि दिनेछन् स्वर

0 Shares

सिनेसुत्र, बिराटनगर- संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको नेपाली सिनेमा ‘मन बिनाको धन-२’ ले कलाकारहरूको आकर्षक लाइनअप तयार पारेको छ।मंगलबार निर्माण पक्षले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, यमन श्रेष्ठ, राजाराम पौडेल, रश्मिला तामाङ र निर्मल शर्मालाई औपचारिक रूपमा अनुबन्ध गरेको छ। यससँगै सिनेमाको कलाकार टोली अझ सशक्त बनेको छ।

विशेष आकर्षणका रूपमा सिनेमामा अभिनयसँगै मदनकृष्ण श्रेष्ठले एउटा गीतमा स्वर पनि दिने भएका छन्। मंगलबार नै उनको स्वरमा सिनेमाको एक गीत रेकर्ड गरिएको निर्माण पक्षले जनाएको छ।यसअघि नै सिनेमाका लागि सरोज खनाल, गौरी मल्ल, विपिन कार्की, पूजा शर्मा र महेश त्रिपाठी मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्। साथै किरण केसी, प्रकाश घिमिरे र शंकर श्रेष्ठलगायतका अनुभवी कलाकारहरूको पनि अभिनय रहनेछ।

टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यस सिनेमाको कथा निर्देशक टंक बुढाथोकी स्वयंले तयार पारेका हुन्। पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन् भने गीत-संगीतको जिम्मेवारी पनि बुढाथोकीकै रहनेछ। सिनेमाकी निर्माता विष्णुमाया मैनाली बुढाथोकी हुन्।निर्माण टिमका अनुसार सिनेमाको छायांकन भदौको पहिलो सातादेखि सुरु हुनेछ। काठमाडौं उपत्यकाका विभिन्न स्थानसँगै मुस्ताङमा पनि सिनेमाको मुख्य छायांकन गरिने तयारी गरिएको छ।

प्राविधिक पक्ष पनि उत्तिकै सशक्त देखिएको छ। सिनेमामा नरेन्द्र मैनालीको छायांकन रहनेछ भने कविराज गहतराज, रामजी लामिछाने र गम्भीर बिष्टको कोरियोग्राफी रहनेछ। द्वन्द्व निर्देशन शुक्रराज शाहले गर्नेछन्। त्यसैगरी नवराज शर्मा मुख्य सहायक निर्देशकका रूपमा रहनेछन् भने निर्माण व्यवस्थापनको जिम्मेवारी प्रनाप सुवेदी (भोला)ले सम्हाल्नेछन्।

सम्बन्धित समाचारसबै