सुब्रत आचार्यको निर्देशनमा ‘पच्चीस पच्चीस’ निर्माण घोषणा : भक्ते भाइ अमित सुब्बाको नेपाली सिनेमामा डेब्यु

0 Shares

सिनेसुत्र, बिराटनगर- नयाँ नेपाली सिनेमा ‘पच्चीस पच्चीस’को आधिकारिक निर्माण घोषणा गरिएको छ। दरबारमार्गस्थित कासा लाउन्ज बारमा सोमबार आयोजित विशेष समारोहबीच कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको यस सिनेमाको शीर्षकसँगै निर्माण टोली र मुख्य कलाकारहरूको औपचारिक परिचय गराइएको हो।

सिनेमालाई रंगपत्रकारिता तथा निर्देशनमा लामो अनुभव सँगालेका निर्देशक सुब्रत आचार्यले निर्देशन गर्दैछन्। यसअघि ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’ जस्ता सिनेमा तथा थुप्रै म्युजिक भिडियो निर्देशन गरिसकेका आचार्यको यो तेस्रो सिनेमा हो।

सिनेमाका निर्माता कर्ण कार्की हुन्। बैंक, क्याफे, सलुन तथा एक्स्पोर्ट-इम्पोर्टलगायत विभिन्न व्यवसायमा आबद्ध कार्कीले गत वर्ष ‘होस्टेल ३’मार्फत सिनेमा निर्माणमा पाइला चालेका थिए। ‘पच्चीस पच्चीस’ उनको निर्माण यात्राको दोस्रो महत्वाकांक्षी परियोजना हो।सिनेमाका सह-निर्मातामा अजय न्यौपाने र धीरेन्द्र लाल कर्ण रहेका छन् भने कार्यकारी निर्माताको जिम्मेवारी दीपेन्द्र गौतम ‘माइकल’ले सम्हालेका छन्। लाइन प्रोड्युसरका रूपमा प्रकाश कँडेल र मनिषा राउत रहेका छन्।

सिनेमामा अबिषेक खड्का र खुसी कार्की मुख्य भूमिकामा देखिनेछन्। उनीहरूसँगै नेपाली सिनेमाका चर्चित अभिनेता प्रमोद अग्रहरीको पनि प्रमुख भूमिका रहनेछ। यस सिनेमाको अर्को विशेष आकर्षण भने सामाजिक सञ्जालमा ‘भक्ते भाइ’ नामले परिचित दार्जिलिङ (भारत)का लोकप्रिय कमेडियन तथा कन्टेन्ट क्रिएटर अमित सुब्बाको डेब्यु हो। ‘द राइजिङ ब्वाइज इन्टरटेनमेन्ट’ युट्युब च्यानलमार्फत नेपाल, दार्जिलिङ र सिक्किम क्षेत्रमा लोकप्रिय बनेका अमितलाई यसै सिनेमामार्फत नेपाली रजतपटमा प्रस्तुत गरिँदैछ।सिनेमाको कथा सुब्रत आचार्य र जयाले तयार पारेका हुन् भने पटकथा सुशील देवकोटाले लेखेका छन्। हरि हुमागाईं छायांकन निर्देशक रहेका छन् भने पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनले गर्नेछन्।

छिट्टै छायांकनमा जाने तयारीमा रहेको यस सिनेमाले मनोरञ्जनसँगै उत्कृष्ट सामाजिक–कमेडी कथा प्रस्तुत गर्ने निर्माण पक्षको दाबी छ। निर्देशक सुब्रत आचार्यले यो सिनेमा नेपाली माटो सुहाउँदो र दर्शकसँग सहज रूपमा जोडिने विश्वास व्यक्त गरेका छन्। कलाकारहरू पनि सिनेमालाई लिएर उत्साहित देखिएका छन्।

सम्बन्धित समाचारसबै