ब्लकबस्टर ‘गौँथली’पछि अरुण क्षेत्री अब हरिवंश आचार्यको भूमिकामा

0 Shares

सिनेसुत्र, बिराटनगर- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा को देखिने भन्ने कौतुहलता निर्माण टिमले अन्त्य गरेको छ। सिनेमामा हरिवंश आचार्यको भूमिकाका लागि कलाकार अरुण क्षेत्री अनुबन्ध भएका छन्। वास्तविक जीवनमा मदनकृष्ण श्रेष्ठका कलाकारिता साझेदार रहेका हरिवंशलाई अब पर्दामा अरुणले जीवन्त बनाउनेछन्। हाल उनी बक्स अफिसमा ब्लकबस्टर बनेको सिनेमा ‘गौँथली’का मुख्य पात्रका रूपमा चर्चामा छन्।

अरुणले ‘म मदनकृष्ण’ सँगै यही निर्माण टिमले सिरिजका रूपमा निर्माण गर्ने हरिवंश आचार्यको बायोपिक सिनेमाका लागि पनि एकैपटक सम्झौता गरेका छन्। निर्देशक मिलन चाम्सले भने, “हामीले ‘म मदनकृष्ण’मा हरिवंशको भूमिकाका लागि अरुणलाई रोजेका छौँ।यससँगै हरिवंश आचार्यको जीवनमा आधारित बायोपिक सिनेमाका लागि पनि उहाँलाई अनुबन्ध गरेका छौँ। सशक्त अभिनय गर्न सक्ने कलाकारको खोजी गर्दै जाँदा अरुणसम्म पुगेका हौँ। उहाँको प्रस्तुति दर्शकले मन पराउनुहुनेछ भन्ने विश्वास छ।”

मदनकृष्ण श्रेष्ठको जीवनका सुख-दुःख, संघर्ष, सरकारी जागिरे जीवन, हरिवंश आचार्यसँगको सहकार्य, अन्तरजातीय विवाह तथा जीवनका आरोह-अवरोह समेटेर बायोपिक सिनेमा ‘म मदनकृष्ण’ निर्माणको घोषणा केही दिनअघि गरिएको थियो।

सिनेमालाई मिलन चाम्सले निर्देशन गर्नेछन्। उनले गत वर्ष राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बाप्पेको जीवनमा आधारित सिनेमा ‘अञ्जिला’ निर्माण गरेका थिए।‘म मदनकृष्ण’मा मदनकृष्ण श्रेष्ठको भूमिकामा महेश त्रिपाठी देखिनेछन् भने केकी अधिकारीले उनकी श्रीमती यशोदा श्रेष्ठको भूमिका निर्वाह गर्नेछिन्। साथै राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनालको पनि अभिनय रहनेछ। भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा निर्माण हुने बायोपिक सिनेमा ‘म मदनकृष्ण’का निर्माता राजकुमार श्रेष्ठ हुन्।

यसैबीच, सिनेमा ‘म मदनकृष्ण’को डिजिटल अधिकार कीर्तिमानी मूल्यमा बिक्री भएको छ। नेपालको प्रतिष्ठित डिजिटल कम्पनी ओएसआर डिजिटलले ठूलो रकम खर्चेर यसको डिजिटल अधिकार खरिद गरेको हो। भदौको दोस्रो सातादेखि छायांकन सुरु हुने सिनेमालाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले नेपालभर वितरण गर्नेछन्।

सम्बन्धित समाचारसबै