प्रियंकाको क्राइम, सस्पेन्स ‘मास्टर्नी’को ट्रेलर सार्वजनिक : छोरी बचाउन महाकाली बनिन प्रियंका

0 Shares

सिनेसुत्र, बिराटनगर- छोरीको सुरक्षाका लागि एउटी आमा कुन हदसम्म जान सक्छिन् भन्ने मर्मस्पर्शी विषयलाई क्राइम थ्रिलर र मर्डर मिस्ट्रीको आवरणमा प्रस्तुत गरिएको सिनेमा ‘मास्टर्नी’ को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा आयोजित एक समारोहबीच आगामी भदौ ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको यस सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो। पारिवारिक भावना र सस्पेन्सलाई एकसाथ पर्दामा ल्याउने सङ्केत गरेको सिनेमाको ट्रेलरले दर्शकमा थप कौतूहल बढाएको छ।

ट्रेलरको सुरुवात समलिंगी युवतीले प्रियंकाकी छोरीलाई जबरजस्ती गर्ने प्रयास गरेको संवाद र दृश्यबाट हुन्छ, जसमा प्रियंका निकै करूणाभावमा देखिएकी छन्। सिनेमामा प्रियंकाकी छोरीको भूमिकामा सिम्रन खड्का प्रस्तुत भएकी छन् भने समलिंगी युवतीको भूमिका रक्षा थापाले निर्वाह गरेकी छन्। प्रियंकाले छोरीलाई ‘अतितलाई बिर्सिन भनेको होइन?’ भन्दै सम्झाउन खोजे पनि सिम्रनको दिमागमा बारम्बार रक्षा आइरहेकी हुन्छिन्। शक्तिशाली नेता रहेका आफ्ना पिताको नाम लिँदै रक्षाले धम्की दिइरहेकी हुन्छिन्, जहाँ नेताको भूमिकामा प्रमोद अग्रहरी प्रस्तुत भएका छन्। तीन दिनदेखि नेताकी छोरी बेपत्ता भएपछि प्रहरी खोजीमा जुटे पनि फेला पार्न सकेको हुँदैन। आफ्नी छोरी कहाँ छ भन्ने प्रियंकालाई थाहा भएको भन्दै प्रमोदले उनीमाथि बन्दुक तेर्स्याएर सोधपुछ गरेको दृश्य ट्रेलरमा समावेश छ। यसै क्रममा प्रियंकाको एउटा निकै शक्तिशाली संवाद सुन्न सकिन्छ, जहाँ उनले ‘मास्टर्नी हुँ, महाकाली बन्न केही समय लाग्दैन’ भन्दै चेतावनी दिएकी छन्।आयंका फिल्म्सको ब्यानरमा निर्माण भएको यो पहिलो प्रोजेक्ट हो। यसअघि सार्वजनिक टिजरमा एउटा लासबाट सुरु हुने भिडियो र ‘छोरीको सुरक्षाभन्दा ठूलो अरू केही छैन’ भन्ने संवादले सिनेमाको मूल कथा आमाछोरीको भावनात्मक सम्बन्ध र त्यसमा आउने उतारचढावमै केन्द्रित रहेको प्रस्ट पारेको थियो, जसलाई ट्रेलरले थप पुष्टि गरेको छ। सुवेन्दु घोषको निर्देशन रहेको यस फ्यामिली ड्रामामा चल्तीका अनुहारहरूको राम्रै जमघट रहेको छ। सिनेमामा प्रियंका कार्की जोशी, सिम्रन खड्का, प्रमोद अग्रहरीका साथै ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले र रक्षा थापा लगायतका कलाकारहरूको दमदार अभिनय रहेको छ।

सिनेमाको कथा अभिनेत्री प्रियंका आफैँले कोरेकी हुन् भने पटकथामा शान बस्नेतले काम गरेका छन्। संवाद लेखनमा भने प्रियंका र शान दुवैको सहकार्य रहेको छ। प्रियंका, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीको संयुक्त लगानी रहेको यस प्रोजेक्टमा सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार कार्यकारी निर्माता रहेका छन्। भारतीय प्राविधिक टोलीको समेत सहभागिता रहेको ‘मास्टर्नी’ को पोस्ट प्रोडक्सनको काम यतिबेला नेपाल र भारत दुवैतिर भइरहेको छ। युवराज इन्दोरियाले खिचेको यो सिनेमालाई राजा सिंह सिदुले सम्पादन गरेका हुन्। यसैगरी सिनेमामा राजेन्द्र मोक्तानको कलर करेक्सन, मुकेश शाहको ध्वनि मिश्रण, रोहित शाक्यको सङ्गीत र त्रिशाला गुरुङको स्वर सुन्न पाइनेछ। रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) ले पब्लिसिटी डिजाइन गरेको यो सिनेमालाई नेपालभर आरआर फिल्मसले वितरण गर्दैछ।

सम्बन्धित समाचारसबै