सिनेसुत्र, बिराटनगर- ‘अगस्त्यः च्याप्टर १’मार्फत आफ्नो निर्देशकीय क्षमता प्रमाणित गरिसकेका निर्देशक सौरभ चौधरीले नयाँ सिनेमा ‘द राइज अफ साम्राज्य’का लागि अभिनेता सौगात मल्ललाई मुख्य भूमिकामा अनुबन्ध गरेका छन्।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो सिनेमा यस वर्षकै बहुप्रतिक्षित प्रोजेक्टमध्ये एक मानिएको छ। गत सोमबार निर्माण टिमले सिनेमाको थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरेको थियो भने त्यसलगत्तै पहिलो कलाकारका रूपमा सौगात मल्लको नाम सार्वजनिक गरिएको हो।
सौगात मल्ल र निर्देशक सौरभ चौधरीले यसअघि सिनेमा ‘अगस्त्यः च्याप्टर १’मा सहकार्य गरिसकेका छन्। उक्त सिनेमामा सौगातको अभिनयको व्यापक प्रशंसा भएको थियो। दोस्रो सहकार्यका रूपमा ‘द राइज अफ साम्राज्य’मा जोडिन पाउँदा दुवै पक्ष उत्साहित देखिएका छन्।
निर्देशक सौरभ चौधरीका अनुसार, “हामीले पहिलो कलाकारका रूपमा सौगात मल्ललाई भित्र्याएका छौँ। उहाँ जस्तो अभिनयमा अब्बल कलाकार नै यो कथाको माग हो। अन्य कलाकारहरूको छनोट प्रक्रिया जारी छ, जसको जानकारी केही दिनमै सार्वजनिक गर्नेछौँ।”
यस सिनेमामा सौगात मल्ल विशिष्ट र चुनौतीपूर्ण भूमिकामा देखिनेछन्। निर्देशकका अनुसार उनले २५ वर्षको युवादेखि ८० वर्षको वृद्धसम्मको जीवन यात्रा पर्दामा प्रस्तुत गर्नेछन्, जुन उनको अभिनय यात्राकै महत्वपूर्ण भूमिकामध्ये एक बन्ने अपेक्षा गरिएको छ।
सिनेमाको कथा तथा पटकथा चर्चित उपन्यासकार बुद्धिसागरले लेखेका हुन्। यसअघि सार्वजनिक गरिएको थिम पोस्टरमा देखिएको आगोको लप्का, घोडामा सवार पात्र र ऐतिहासिक राजसी परिवेशले यो सिनेमा ‘एपिक एक्सन ड्रामा’ शैलीमा निर्माण हुने संकेत दिएको छ।
निर्देशक चौधरीले यसपटक अघिल्लो कामभन्दा अझ ठूलो क्यानभासमा सिनेमा निर्माण गर्ने तयारी गरेका छन्। निर्माण पक्षले यसलाई नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन सिनेमा हुने दाबी गरेको छ। सिनेमाको छायांकन आगामी भदौ पहिलो साताबाट सुरु हुनेछ। ७० दिनको छायांकन तालिका तयार गरिएको छ, जसको अधिकांश दृश्य पूर्वी नेपालमा खिचिनेछन्।
प्रवेश चौधरी र निला देव निर्माता रहेको यस सिनेमामा विश्वास बस्नेत (बेन) को-प्रोडुसर तथा शंकर पाण्डे कार्यकारी निर्माता छन्। मानकृष्ण महर्जन डीओपी, श्री श्रेष्ठ एक्सन डिरेक्टर, ओएसआर डिजिटल डिजिटल पार्टनर, टौवा स्टुडियो पब्लिसिटी पार्टनर तथा डीसीएन वितरक रहेका छन्।