दयाहाङ राई स्टारर ‘पेन्सन पट्टा’को टिजर सार्वजनिक : बाबुको पेन्सन पट्टामा अर्कै महिलाको नाम
0
Shares
सिनेसुत्र, बिराटनगर- हरितालिका तीजको विशेष अवसर पारेर आगामी भदौ २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको सिनेमा ‘पेन्सन पट्टा’को अफिसियल टिजर सार्वजनिक भएको छ। माओत्से गुरुङको निर्देशनमा तयार भएको यस सिनेमाको टिजरले लाहुरे समाज, पारिवारिक सम्बन्ध र मानवीय संवेदनाको गहिरो कथा प्रस्तुत गरेको छ।
सार्वजनिक टिजरले सिनेमाको मुख्य विषयवस्तु र द्वन्द्वलाई प्रस्ट पारेको छ। दिवंगत बाबुको ‘पेन्सन पट्टा’मा आफ्नी आमाको नाम नभई कहिल्यै नसुनेकी र थाहा नपाइएकी बाबुको पहिलो पत्नीको नाम रहेपछि परिवारले भोग्नुपरेको सकसलाई कथाको केन्द्रविन्दु बनाइएको छ। अवकाशप्राप्त लाहुरे जीवनपछि समाज र परिवारसँग जोडिएर बाँचिरहेका पात्रहरूको अवस्था, सङ्घर्ष तथा सम्बन्धलाई सिनेमाले पर्दामा उतार्ने प्रयास गरेको छ।‘माओत्से गुरुङ फिल्म्स’को ब्यानरमा निर्माण भएको यस सिनेमाको कथा निर्देशक माओत्से गुरुङ स्वयंले लेखेका हुन्। सिनेमामा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई र विश्वास गुरुङको मुख्य भूमिका देख्न सकिन्छ।
त्यसैगरी, सिनेमामा माया गुरुङ, पुष्कर बहादुर गुरुङ, स्वर्गीय सुनील थापा, लुनिभा तुलाधर, सुरज तमु, राज कौछा मगर, यासिली योख्खा, डीबी गुरुङ, प्रतिक्षा गुरुङ, सोल गुरुङ, मनोज गुरुङ, अनुषा राई तथा कुबिना गुरुङ लगायतका कलाकारहरूको अभिनय रहेको छ।