‘छड्के सलाम’को कभर भिडियोलाई सिनेमा ‘बेहुली फ्रम मेघौली’ मा समावेश गरिने — सपना पुरा गर्ने मौका

0 Shares

सिनेसुत्र, बिराटनगर – सिनेमा ‘बेहुली फ्रम मेघौली’को गीत ‘छड्के सलाम’को लागि निर्माणपक्षले आकर्षक योजना सार्वजनिक गरेको छ।

अब तपाईँले बनाएको उत्कृष्ट कभर भिडियो सिधै सिनेमामा समावेश हुने अवसर प्राप्त गर्न सक्नुहुन्छ।

भाग लिन चाहनुहुन्छ?
नियमहरु सरल छन्—‘बेहुली फ्रम मेघौली’को गीत ‘छड्के सलाम’को कुनै पनि साउन्ड प्रयोग गरी ल्यान्डस्केप साइजमा कभर भिडियो बनाउनुपर्नेछ । भिडियो एचडी क्वालिटीको हुनुपर्ने निर्माणपक्षले जनाएको छ । भिडियोलाई आफ्नो सामाजिक संजालमा पोस्ट गरेर उक्त भिडियो निर्माणपक्षको इमेलमा पठाउनुपर्नेछ ।

यस प्रतियोगितामा सहभागी हुन उमेरको कुनै सिमा छैन। जुनसुकै उमेर समूहका व्यक्तिहरूले पनि आफ्नो कला प्रस्तुत गर्न सक्छन्।

सिनेमाको तर्फबाट दार्शनिक विषयवस्तु प्रस्तुत गरिएको छ। निश्चल बस्नेत र स्वस्तिमा खड्काका साथ बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनयले सिनेमा अझै आकर्षक बन्ने विश्वास गरिएको छ।

घटस्थापनाको दिन अर्थात् असोज १७ गतेबाट प्रदर्शनमा आउने यो सिनेमा ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको हो।
साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशनमा बनेको यो डेब्यु सिनेमा हो। स्वस्तिमा खड्कालाई निर्माणमा निश्चल बस्नेतले साथ दिएका छन्।

सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे रहेका छन् भने विजय बरालले कास्टिङ डिरेक्टरको भूमिका निभाएका छन्।
नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केबीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, र घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन रहेको सिनेमाले दशैंको समयलाई रंगीन बनाउन तयार हुँदैछ। एप्पल इन्टरटेनमेन्ट र डिसिएनले सिनेमाको वितरण जिम्मा लिएका छन्।

यसरी सिनेमा ‘बेहुली फ्रम मेघौली’ले तपाईँको कलालाई ठूलो पर्दामा देखाउने सुनौलो अवसर प्रदान गर्दैछ। तसर्थ, अब ढिलो नगरी आफ्नो प्रतिभा देखाउनुहोस् र यो अद्वितीय अवसरको सदुपयोग गर्नुहोस्।

सम्बन्धित समाचारसबै