दशैंमा रिलिज हुने ‘१२ गाउँ २’को तयारी अन्तिम चरणमा : डबिङमा व्यस्त समिर भट्ट

0 Shares

सिनेसुत्र, बिराटनगर- समिर भट्टको मुख्य भूमिका रहेको सिनेमा ‘१२ गाउँ २’को डबिङ जारी छ । काठमाडौंको ग्लोबल रिल मोसन पिक्चर्समा आइतबार अभिनेता समिर भट्टले स्वराङ्कन गरेका हुन् । निर्देशक विराज भट्टले समिरसहित अनुपविक्रम शाही, कालु रानालगायतका कलाकारलाई डबिङ गराइरहेका छन् ।

दशैंको अवसर पारेर फूलपातीको अघिल्लो दिन असोज ३० गतेबाट प्रदर्शन हुने सिनेमा २०८१ सालको हिट सिनेमा ‘१२ गाउँ’को सिक्वेल हो । एक्सन नायक विराज भट्टको निर्देशन रहेको ‘१२ गाउँ’बाट नेपाली सिनेमामा समिर भट्ट उदाउँदो स्टारका रूपमा स्थापित भएका थिए ।

पहिलो श्रृंखलाको जबरजस्त सफलता अनि समिरको उम्दा क्रेजका बीच ‘१२ गाउँ २’ प्रतीक्षित सिनेमा बनिरहेको छ । ‘१२ गाउँ २’लाई अझै ठूलो क्यानभास, नवीन कथा, सशक्त प्रस्तुति र उच्च प्राविधिक गुणस्तरसहित दर्शकमाझ ल्याउने तयारी गरिएको निर्माण पक्षको भनाइ छ । सिनेमामा मनोरञ्जनसँगै एक्सन मात्र नभएर भावना तथा पारिवारिक कथालाई विशेष प्राथमिकता दिइएको बताइएको छ ।डबिङका साथै पोस्ट–प्रोडक्सनका अन्य प्राविधिक काम पनि निर्धारित तालिकाअनुसार तीव्र गतिमा अघि बढिरहेको निर्माण पक्षले जनाएको छ । डबिङ कार्य सम्पन्न भएपछि सिनेमाको गीत, ट्रेलर र प्रचार–प्रसारका सामग्री क्रमशः सार्वजनिक गरिने तयारी रहेको बताइन्छ ।

सिनेमामा निर्देशक विराज भट्टका साथमा समिर भट्ट, अनुपविक्रम शाही, काफिया शाही, वर्षा इटनी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी, पूर्णबहादुर गन्धर्वलगायत कलाकारहरूको अभिनय छ ।

सन्तोष सरकारको कथा तथा पटकथा रहेको सिनेमामा महेश पौडेलको छायांकन, स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन, कालाचरण र गीता गुरप्पाको ब्याकग्राउन्ड म्युजिक तथा सियोन श्रेष्ठको नृत्य निर्देशन रहेको छ ।

 

सम्बन्धित समाचारसबै