सिनेसुत्र, बिराटनगर- चार दिनअघि सार्वजनिक भएको सिनेमा ‘झिंगे दाउ २’को टिजर सामाजिक सञ्जालमा आक्रामक रूपमा फैलिएको छ । युट्युबमा मात्र टिजरले १० लाखभन्दा बढी भ्युज पाएको छ भने फेसबुक र टिकटकमा १ करोडभन्दा बढी पटक हेरिएको छ । दर्शकको उत्साहजनक प्रतिक्रियासँगै टिजरले लोभलाग्दो भ्युज पाइरहेको हो ।
टिजरमा समावेश नायिकाद्वय केकी अधिकारी र आँचल शर्माको झगडाको दृश्य सामाजिक सञ्जालमा चर्चित बनेको छ । विशेषगरी रुखमा केकी र आँचलबीच भएको झगडाको दृश्य दर्शकमाझ लोकप्रिय बनेको हो ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको सिनेमाको टिजरमा जेठानी-देउरानीको झगडा, दाजुभाइबीचको कलह र आमाको छटपटीलाई प्रस्तुत गरिएको छ । असोज २ गतेदेखि रिलिजमा आउन लागेको यो सिनेमाले बक्स अफिसमा सुखद व्यापार गर्ने प्रक्षेपण हुन थालेको छ ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको यो सिनेमालाई एप्पल इन्टरटेन्मेन्टले नेपालभर वितरण गर्नेछ । सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको सिनेमामा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह-निर्माताका रूपमा छन् ।
विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको सिनेमामा मित्र डी गुरुङको सम्पादन, ईश्वर घिमिरेको प्रोडक्सन म्यानेजमेन्ट, अर्जुन घिमिरेको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको छ । परिच्छेद सेनको पटकथा तथा संवाद रहेको सिनेमाको लेखन गोविन्द फुयाँल र शिशिर चालिसेले गरेका छन् ।
यसपटक निर्देशक देउजाले पारिवारिक कलहसँगै आमाको महत्वलाई सिनेमाको पर्दामा प्रस्तुत गरेका छन् । टिजरमा समावेश आँचल र केकीको रुखमा भएको झगडाको दृश्य भने सिनेमाको सबैभन्दा चर्चित पक्ष बनेको छ ।