सिनेसुत्र, बिराटनगर- सिनेमा ‘मास्टर्नी’को अफिसियल गीत ‘गुराँस फुल्दा’ सार्वजनिक गरिएको छ। केही दिनअघि सार्वजनिक भएको ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइरहेका बेला निर्माण टिमले सिनेमाको आधिकारिक गीत सार्वजनिक गरेको हो।
मेलिना राईको स्वर रहेको गीतमा वसन्त सापकोटाको रि-एरेन्ज तथा दयाराम दाहालको शब्द रहेको छ। सिनेमा ‘सुपरस्टार’मा समावेश यो गीतको अफिसियल रि-भर्सन ‘मास्टर्नी’ टिमले सार्वजनिक गरेको हो। सचिन सिंहको ओरिजिनल संगीत रहेको गीतमा साधना सरगमको स्वर रहेको थियो।
गीतको भिडियोमा प्रियंका कार्की र वर्षा राउत फिचर्ड छन्। गम्भीर विष्टको कोरियोग्राफीमा तयार भएको भिडियोमा पवन सुस्लिङको छायांकन, सम्पादन तथा कलर रहेको छ। आयंका फिल्म्सको प्रस्तुतिमा तयार भएको ‘मास्टर्नी’ क्राइम थ्रिलर तथा फ्यामिली ड्रामा जनरामा निर्माण भएको सिनेमा हो। सिनेमामा प्रियंका कार्की जोशी, सिम्रन खड्का, दीपकराज गिरी, दीपाश्री निरौला, सन्दीप क्षेत्री, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापा लगायतका कलाकारको अभिनय रहेको छ।
सुवेन्दु घोषको निर्देशनमा तयार भएको सिनेमालाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका हुन्। सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार कार्यकारी निर्माता हुन्।
सिनेमाको कथा प्रियंकाले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका छन्। संवाद लेखनमा प्रियंका कार्की र शान बस्नेतको सहकार्य रहेको छ। युवराज इन्दोरियाको छायांकन तथा राजा सिंह सिदुको सम्पादन रहेको सिनेमा भदौ ५ गतेबाट प्रदर्शनमा आउँदैछ।
सिनेमामा रोहित शाक्यको संगीत तथा त्रिशाला गुरुङको गायन रहेको छ। सिनेमाको पोस्टर डिजाइन तथा पब्लिसिटी पार्टनर रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) रहेको छ। सिनेमालाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ।