सिनेसुत्र, बिराटनगर- एप्पल इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको नयाँ सिनेमा ‘भिडियोटेप’को आज एक कार्यक्रमबीच घोषणा गरिएको छ। ललितपुरको लाबिम मलमा आयोजित पत्रकार सम्मेलनमा ओविद उद्दिनको निर्देशनमा तयार हुन लागेको हरर जनराको सिनेमाको घोषणा गरिएको हो।
हरर जनरामा निर्माण हुन लागेको यो सिनेमा भदौ ५ गतेदेखि उपल्लो मुस्ताङमा खिचिनेछ। सिनेमाको छायांकन ३० दिनसम्म चल्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो।सिनेमामा नायिका उपासना सिंह ठकुरीको साथमा नायक कुन्दन मान शाक्यको मुख्य भूमिका रहनेछ। त्यस्तै, अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जीवन अधिकारी, शेखर चापागाईं, सिद्धार्थ सिंहलगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ।
सिनेमामा वशिष्ट प्रधानको डीओपी रहनेछन् भने प्रोडक्सन म्यानेजरको जिम्मेवारी ईश्वर घिमिरेले सम्हाल्नेछन्। कार्यक्रममा बोल्दै निर्देशक ओविद उद्दिनले आफू सानैदेखि हरर जनराका सिनेमा हेरेर हुर्किएको बताउँदै आफ्नो डेब्यू सिनेमामा पनि यही जनरालाई अगाडि बढाएको बताए। उनका अनुसार सिनेमा काल्पनिक विषयमा आधारित हुनेछ र कुनै पनि वास्तविक घटनासँग मेल खाने छैन।
नायिका उपासना सिंह ठकुरीले सिनेमाका विषयमा एक वर्ष अगाडिदेखि नै कुराकानी भइरहेको बताइन्। उनले कथावस्तु निकै राम्रो रहेको भन्दै छायांकनमा जान आफू उत्साहित रहेको बताइन्। यस्तै, नवनायक कुन्दन मान शाक्यले पनि सिनेमालाई लिएर आफू निकै उत्साहित रहेको बताए।
पत्रकार सम्मेलनमा ‘भिडियोटेप’लाई करिब ४ करोड रुपैयाँको बजेटमा निर्माण गरिने जानकारी दिइयो। सिनेमामा महेश बरालको मुख्य सहायक निर्देशन रहनेछ।कार्यक्रममा बोल्दै एप्पल इन्टरटेन्मेन्टका प्रमुख नकिम उद्दिनले नयाँ टिमलाई साथ दिन सबैसँग आग्रह गरेका थिए।
