सिनेसुत्र, बिराटनगर- सुदर्शन थापाको निर्देशनमा नयाँ नेपाली सिनेमा ‘शुभ विवाह’को घोषणा भएको छ। निर्माण टिमले बिहीबार पत्रकार सम्मेलनमार्फत सिनेमाका मुख्य कलाकार तथा प्राविधिक टिम सार्वजनिक गरेको हो। सोही अवसरमा सिनेमाको निर्माण ब्यानर ‘प्रियादर्शन फिल्मस्’ पनि घोषणा गरिएको छ।
प्रियादर्शन फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमामा अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराई मुख्य भूमिकामा रहनेछन्। उनीहरूसँगै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अन्शु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यको अभिनय रहनेछ।
यसअघि निर्देशक थापा र अभिनेता खड्काले ‘प्रेम गीत’मा सहकार्य गरेका थिए। उक्त सिनेमा सफल मानिन्छ। सुप्रिया कटुवालको निर्माण तथा साम भुजेलको कार्यकारी निर्माण रहने सिनेमाको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन्। पटकथा तथा संवाद रामशरण पाठकको रहेको छ। अर्जुन पोखरेलको संगीत तथा रेभन आरती सिंहको पाश्र्व संगीत रहनेछ।
राजेश श्रेष्ठले छायांकन (डीओपी) गर्ने सिनेमाको सम्पादन मिलन श्रेष्ठले सम्हाल्नेछन् भने कलर ग्रेडिङ राजेन्द्र मोक्तानको रहनेछ। नृत्य निर्देशन विक्रम स्वार तथा ट्रेलर सम्पादन साहिल खानले गर्नेछन्। सह-निर्देशकमा बसन्त अधिकारी (प्रमुख), साजन कट्टेल र प्रार्थना पाठक रहेका छन्। ध्वनि मनोज लामा, कला निर्देशन रोशन दिवाना र प्रोडक्सन म्यानेजर सुदीप ढकाल रहेका छन्। शृङ्गार सरोज पाण्डे, हेयर डिजाइन सरस्वती श्रेष्ठ तथा ‘बिहाइन्ड द सिन्स’को जिम्मेवारी निरज पन्थीले पाएका छन्।
कानुनी सल्लाहकारमा विराज ढुङ्गाना, लेखापरीक्षकमा भेष ढकाल तथा एजेन्सीको जिम्मेवारी प्रसुन तिमिल्सिना (कार्यालय) ले सम्हाल्नेछन्। पोसाक सुशीला केसी (लगन बुटिक) र आकृति पन्त (सेन्ट्रल फेसन एकेडेमी) ले तयार पार्नेछन्।
पब्लिसिटी डिजाइन तथा पोस्टर निर्माण आनन्द महर्जनले गर्नेछन्। कम्पनी लोगो एनिमेसन मनोज श्रेष्ठ र सिनेमाको टिजर एनिमेसन अनन्त घिमिरेले गर्नेछन्। डेकोर पार्टनरका रूपमा गरिमा फ्लोरिस्ट रहेको छ। रोमान्टिक कथावस्तुमा आधारित हुने ‘शुभ विवाह’को छायांकन छिट्टै सुरु गर्ने तयारी निर्माण पक्षको छ। सिनेमा आगामी फागुन २१ गतेदेखि नेपालभर प्रदर्शनमा आउनेछ।
