सिनेसुत्र, बिराटनगर- नायक पल शाहको निर्माणमा तयार हुन लागेको सिनेमा ‘यानीमाया’को आजबाट छायांकन सुरु गरिएको छ । निर्माणपक्षका अनुसार सिनेमाको छायांकन ३५ दिनमा सकिनेछ । गागलफेदीस्थित फिल्म स्टुडियोबाट छायांकन सुरु गरिएको हो । छायांकनअघि शुभसाइत समारोह आयोजना गर्दै सिनेमाको टिमले पूजा गरेर छायांकन सुरु गरेको हो ।
ओम प्रतिकको लेखन तथा निर्देशनमा बन्न लागेको सिनेमामा पल शाह, अञ्जना मगर, शिशिर वाङ्देल, गजित बिष्ट, लोकेन्द्र लेखक, अङ्कित खड्का, राज थापा, कर्मा लामा, संगीता थापा, विशाल पुलामी, नारायणी खत्रीलगायतका कलाकारको अभिनय रहनेछ । शान्न अधिकारी र मोनिका भण्डारी बाल कलाकारका रूपमा सिनेमामा देखिनेछन् ।
चन्द्र ज्योती आले र पल शाहको लगानीमा बन्न लागेको सिनेमामा नवराज उप्रेतीको डीओपी, कुमार महर्जनको एक्सन, गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन तथा भूपेन्द्र अधिकारीको सम्पादन रहनेछ । विशाल कार्कीले निर्माण व्यवस्थापन सम्हाल्नेछन् । त्यस्तै, रेनिश फागोको कलर सम्पादन, राजु लामा र सञ्जु ढकालको मेकअप तथा हेयर र आशिष पौडेलको पोशाक डिजाइन रहनेछ ।
सामाजिक प्रेमकथामा आधारित सिनेमाको प्रदर्शन मिति फागुन ७ गतेलाई तोकिएको छ । सिनेमाको छायांकन काठमाडौंमा १० दिन गरिनेछ भने त्यसपछि निर्माण टिम पर्वततर्फ प्रस्थान गर्नेछ । सिनेमा निर्माणमा लाग्दा छुट्टै अनुभूति भएको बताउँदै नायक पल शाहले दर्शकमाझ उत्कृष्ट सिनेमा पस्कने बताए ।
