सिनेसुत्र, बिराटनगर- लामो समयपछि निर्देशनमा फर्किएकी रेखा थापाको सिनेमा ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरले प्रेम, विवाह, बाध्यता र धोकाबीचको द्वन्द्वमा आधारित कथाको संकेत गरेको छ । टिजरमा विपरीतलिंगीप्रतिको आकर्षण, प्रेम, विश्वास, विवाह, बाध्यता र धोकालाई प्राथमिकतामा राखिएको छ । भावनात्मक अन्तरद्वन्द्वसँगै सिनेमामा रहस्यमय ट्विस्टहरू रहेको संकेत टिजरले गरेको छ ।
कवितात्मक शैलीबाट सुरु हुने टिजरमा संवाद छ, ‘जुन केटीसँग म विवाह गर्न आएँ, उनी त्यो थिइनन्, जसलाई मैले माया गरेको थिएँ ।’ यो संवादले प्रेमभन्दा फरक परिस्थितिमा विवाह गर्नुपर्ने बाध्यता र विवशताको संकेत गर्छ ।
टिजरअनुसार अभिनेता दिल श्रेष्ठको जीवनमा दुई युवती नीति शाह र सृष्टि श्रेष्ठको प्रवेश हुन्छ । सुरुवातमा दिल र नीतिको प्रेमलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ । उनीहरू सँगै रमाएका, हाँसेका र भविष्यका सपना बुनेका दृश्य टिजरमा देखिन्छन् । तर कथामा यस्तो मोड आउँछ, जहाँ दिल विवाहको मण्डपमा पुग्दा उनले चाहेको प्रेमिका अगाडि देखिँदैनन् ।
यससँगै टिजरले दर्शकमाझ प्रश्न खडा गरेको छ– नीतिको ठाउँमा अचानक सृष्टिको प्रवेश किन हुन्छ ? वा सृष्टि र नीति दिदी-बहिनी हुन् ? टिजरमा कलाकारहरूको भावुक दृश्य, मदनकृष्ण श्रेष्ठको गम्भीर प्रस्तुति तथा पारिवारिक तनावले विवाह बाध्यता वा धोकाका कारण भएको हुन सक्ने संकेत गर्छ । टिजरमा नीतिलाई चञ्चल र प्रेमिल अवतारमा प्रस्तुत गरिएको छ भने सृष्टि श्रेष्ठको भूमिका गम्भीर र रहस्यमय देखिन्छ । नम्रता श्रेष्ठको उपस्थितिले पनि कथामा नयाँ आयाम थपेको संकेत गर्छ ।
निर्देशक रेखा थापाले यसअघिका सिनेमामा एक्सन र नारी शक्तिलाई प्राथमिकता दिँदै आएकी थिइन् । तर ‘माया भनेकै यस्तो होला’मा उनले भावनात्मक कथालाई केन्द्रमा राखेकी छिन् । टिजरमा समावेश संवादहरूले पनि सिनेमामा प्रेमसँगै गहिरो भावनात्मक पक्ष रहेको देखाउँछ ।
दिल श्रेष्ठले आफ्नो साँचो प्रेम पाउँछन् वा प्रेमका लागि बलिदान दिनुपर्ने अवस्थामा पुग्छन् भन्ने प्रश्नको उत्तर भने सिनेमा प्रदर्शनपछि मात्र खुल्नेछ । सुदीप बरालको सिनेमाटोग्राफीले टिजरका दृश्यलाई आकर्षक बनाएको छ । भदौ २६ गते प्रदर्शनमा आउने सिनेमाले प्रेममा परेका दर्शकसँगै परिवारका सदस्यलाई समेत हलसम्म तान्ने निर्माणपक्षको विश्वास छ ।
सिनेमामा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ तथा पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाह मुख्य भूमिकामा छन् । लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायत कलाकारको पनि अभिनय रहेको छ ।
‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको सिनेमामा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता छन् । ध्रुव लम्सालको पटकथा लेखन रहेको सिनेमाले सुमधुर प्रेमकथामार्फत सामाजिक भावना र पारिवारिक परिवेशलाई उठान गर्ने निर्माणपक्षले जनाएको छ ।
सुदीप बरालको छायांकन रहेको सिनेमामा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे सिनेमा संयोजक, प्रशान्त सिवाकोटी संगीत, सुजेनी मल्ल ड्रेस डिजाइन, प्रिया कार्की मेकअप तथा चुडामणी (सीएम) प्रोडक्सनमा छन् । सिनेमाको वितरणको जिम्मा रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएका छन् ।