लामो समयपछि पर्दामा फर्किँदै सिताराम कट्टेल ‘धुर्मुस’ : आखिर के आउँदैछ नयाँ?

0 Shares

सिनेसुत्र, बिराटनगर- कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ फेरि पर्दामा फर्किने भएका छन्। अमेरिकाबाट नेपाल फर्किएपछि उनी ‘धुर्मुस’कै परिचित पात्रमा सुटिङमा व्यस्त हुन थालेका छन्। कट्टेल कुन परियोजनाका लागि सुटिङमा सहभागी भएका हुन् भन्ने विषयमा अहिलेसम्म औपचारिक जानकारी सार्वजनिक गरिएको छैन। तर, उनको नयाँ कामको तयारीले दर्शकमाझ उत्सुकता बढाएको छ।

यसैबीच, कलाकार शिशिर भण्डारीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको एक तस्बिरले ‘धुर्मुस’को नयाँ परियोजनाबारे थप उत्सुकता बढाएको छ। उक्त तस्बिरमा सिताराम कट्टेलसँगै सुरबीर पण्डित ‘दारी बा’, रामचन्द्र अधिकारी ‘काजी बा’, बुद्धि तामाङ ‘हैट’ र स्वयं शिशिर भण्डारी देखिएका छन्।भण्डारीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ दाई फेरि पर्दामा आउँदैछन्, केही नयाँ पक्कै आउँदैछ। अमेरिकाबाट नेपाल फर्केर सिताराम दाई ‘धुर्मुस’ बनेर सुटिङ गर्न थालेका छन्। मैले पनि दाईसँग सहकार्य गरेको छु। को-को धुर्मुसलाई पर्दामा हेर्न आतुर हुनुहुन्छ?

भण्डारीको उक्त भनाइसँगै कट्टेल कुन परियोजनामार्फत पर्दामा फर्किन लागेका हुन् भन्ने चासो झनै बढेको छ। परियोजनाको नाम, भूमिका र प्रदर्शनसम्बन्धी थप विवरण भने सार्वजनिक हुन बाँकी छ।कलाकारितासँगै सामाजिक अभियानमा समेत सक्रिय रहँदै आएका कट्टेल पछिल्लो समय अमेरिकामा थिए। उनी यसअघि ‘सेन्टी भाइरस’मार्फत कुञ्जना घिमिरे ‘सुन्तली’सँगै ठूलो पर्दामा देखिएका थिए। ‘धुर्मुस’ पात्रमार्फत दर्शकमाझ लोकप्रिय बनेका सिताराम कट्टेल लामो समयपछि यही परिचित पात्रमा देखिन लागेकाले उनको पुनरागमनलाई चासोका साथ हेरिएको छ।

सम्बन्धित समाचारसबै