सौरभ चौधरीको ‘द राइज अफ साम्राज्य’मा सौगात र दयाहाङपछि नाजिरको इन्ट्री : बन्दै मल्टिस्टार सिनेमा

0 Shares

सिनेसुत्र, बिराटनगर- निर्देशक सौरभ चौधरीले नयाँ सिनेमा ‘द राइज अफ साम्राज्य’मा भर्सटाइल अभिनेता नाजिर हुसेनलाई अनुबन्ध गराएका छन्। अभिनेता सौगात मल्ल र दयाहाङ राईपछि मुख्य भूमिकामा नाजिरले यो सिनेमामा प्रवेश गरेका हुन्। नाजिरसँग सौरभले यसअघि पनि सहकार्य गरिसकेका छन्। सौगातको ‘अगस्त्य’मा नाजिरले काम गरेका थिए।

नाजिर आफैँमा भर्सटाइल अभिनेता हुन्। हामीले अब्बल कलाकार लिने क्रममा नाजिरसँग पनि यो सिनेमामा सहकार्य गर्ने भएका छौँ,” निर्देशक सौरभ भन्छन्, “सौगात र दयाहाङ जस्तै नाजिरलाई पनि यो सिनेमामा एक मुख्य कलाकारका रूपमा देख्न सकिनेछ।सौगात, दयाहाङ र नाजिरपछि यस्तै अब्बल कलाकार अझै पनि सिनेमामा जोडिनेक्रम जारी नै रहने सौरभले बताएका छन्। डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो सिनेमा मल्टिस्टार बन्ने यसको लाइनअपले देखाइरहेको छ।

यो सिनेमामा उपन्यासकार बुद्धिसागरले कथा र पटकथा लेखेका छन्। यो सिनेमा ‘एपिक एक्सन ड्रामा’ हुने निर्देशक चौधरीको भनाइ छ। सौरभ चौधरी यसपटक पहिलेको तुलनामा अझ ठूलो क्यानभासमा सिनेमा बनाउने योजनामा छन्। यो नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन सिनेमा हुने निर्माण पक्षको दाबी छ।सिनेमाको छायांकन आगामी भदौ पहिलो साताबाट सुरु हुनेछ। निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ, जसको अधिकांश हिस्सा पूर्वी नेपालमा खिचिनेछ। यो सिनेमाका निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन्। को-प्रोडुसरमा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन्।

मानकृष्ण महर्जनको डीओपी रहने यो सिनेमाको एक्सन डिरेक्टरमा श्री श्रेष्ठ छन्। डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ भने पब्लिसिटी पार्टनरमा टौवा स्टुडियो छ। यो सिनेमाको वितरकमा डिसीएन रहेको छ।

सम्बन्धित समाचारसबै