सिनेसुत्र, बिराटनगर- कान्सजस्तो विश्वकै ठूलो सिनेमा फेस्टिभलमा अवार्ड जितेर नेपालमा प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘तिनीहरू : इलिफेन्ट इन द फग’को टोलीले काठमाडौंको भृकुटीमण्डपमा नाइमा मोबिलिटी शोमा विशेष प्रस्तुति दिएको छ।
टोलीले कार्यक्रमको सुरुवात सिनेमामा समावेश गीत ‘शादी के दिन में (ला ला ला ला)’को प्रस्तुति र नृत्यबाट गरेको थियो। त्यसपछि टोली एनआईयूको स्टलमा पुगेको थियो, जहाँ उनीहरूले सिनेमाको गीत ‘बलम’मा नृत्य प्रस्तुत गरेका थिए।
टोलीको प्रस्तुतिमा उपस्थित दर्शकहरू उत्साहित हुँदै सहभागी भएका थिए। दर्शकले सिनेमाबारे चासो राख्दै हलमा गएर हेर्ने बताएका थिए। त्यसपछि टोलीले महेन्द्राको स्टलमा समेत विशेष प्रस्तुति दिँदै उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो। दर्शकले सिनेमाका कलाकारलाई साथ दिँदै सिनेमा हेर्नका लागि प्रतीक्षारत रहेको बताएका थिए।
यो सिनेमा कान्स फिल्म फेस्टिभलको यूएन सर्टेन रिगार्ड सेक्सनमा छनोट हुने पहिलो नेपाली फिचर सिनेमा हो। यो विधामा छनोट भएर जुरी अवार्ड जित्दै यस सिनेमाले नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा इतिहासमा लेखाएको थियो।
यसैबीच, यो सिनेमाको टोली के-पप काठमाडौं डान्स फेस्टिभलमा प्रमुख अतिथिका रूपमा सहभागी भएको छ। कार्यक्रममा टोलीले प्रतियोगिताका विजेता तथा सहभागीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ।
कोरियन पप नृत्यको उत्सवका रूपमा आयोजना गरिएको कार्यक्रममा सिनेमाको टोलीले विजेता तथा सहभागी कलाकारहरूको हौसला बढाउँदै उनीहरूको प्रतिभाको सम्मान गरेको थियो। यस अवसरमा ‘तिनीहरू : इलिफेन्ट इन द फग’ कार्यक्रमको मुभी पार्टनरसमेत रहेको थियो।
यसैगरी, ‘तिनीहरू : इलिफेन्ट इन द फग’को टोलीलाई इन्फा अवार्डद्वारा विशेष सम्मान गरिएको छ। काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा सिनेमाको टोलीलाई नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित बनाएको भन्दै योगदानका लागि विशेष सम्मान गरिएको हो।
सोही अवसरमा काठमाडौं महानगरपालिकाकी कार्यवहाक मेयर सुनीता डंगोलले सिनेमाको प्रशंसा गर्दै कान्स फिल्म फेस्टिभलमा भएको सिनेमाको वर्ल्ड प्रिमियरमा आफू सहभागी भएको अनुभव सुनाइन्। उनले कान्समा सिनेमाले पाएको आठ मिनेट लामो स्ट्यान्डिङ ओभेसन स्मरण गर्दै नेपाली सिनेमाले अन्तर्राष्ट्रिय मञ्चमा प्राप्त गरेको यो उपलब्धि गौरवको विषय भएको बताइन्।
डंगोलले दर्शकहरूलाई समेत यो सिनेमा हेर्न आग्रह गर्दै नेपाली सिनेमालाई माया र समर्थन गर्न आह्वान गरिन्। ‘तिनीहरू : इलिफेन्ट इन द फग’ भदौ १९ देखि नेपालमा प्रदर्शन हुँदैछ।
