सन्तानको उज्ज्वल भविष्यका लागि बाबुको बलिदान: ‘पूर्ण बहादुरको सारङ्गी’को भावुक टिजर सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- कात्तिक १५ गते लक्ष्मीपूजाको अवसरमा प्रदर्शनमा आउने सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर आइतबार सार्वजनिक भएको छ। सोमवार बुवाको मुख हेर्ने दिनको अवसर पारेर सिनेमाको टिजर सार्वजनिक गरिएको हो।

सिनेमाको १ मिनेट ५० सेकेण्ड लामो टिजरमा एक बाबुले आफ्नो सन्तानको उज्ज्वल भविष्यको लागि गर्ने त्याग, संघर्ष, र त्यसले ल्याउने उपलब्धि देखाइएको छ । गरिबीका कारण बुवाले भोग्नुपरेको अभाव, छोराले पाएको शैक्षिक सफलता, र उनीहरूबीचको विछोडको पीडालाई चित्रण गर्छ। फिल्मले गन्धर्व समुदायको जीवन र उनीहरूको सांस्कृतिक धरोहरसँग जोडिएको कथा प्रस्तुत गरेको छ, जसले दर्शकलाई भावनात्मक रूपमा छुने पक्का छ।

टिजरमा मुख्य कलाकार विजय बराल र प्रकाश सपूतको भूमिका उजागर गरिएको छ। सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमा सेभेन सिस सिनेमा र बाँसुरी फिल्मसको सहकार्यमा निर्माण भएको हो। सिनेमामा विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, र जानवी पौडेललगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।

नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउँदै आएको सेभेन सिज इन्टरटेनमेन्टले पहिलो पटक नेपालमा पनि सिनेमा वितरणको सुरुवात गर्दैछ। यो सिनेमा नेपाल र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ। गन्धर्व परिवारको कथामा आधारित यस सोसल-ड्रामा जनरामा निर्माताहरू विनोद पौडेल र प्रतीक सुवेदी रहेका छन्। कार्यकारी निर्माताहरूमा रमेश चौलागाई, हरि श्रेष्ठ, र रमेश ढकाल छन्।

सिनेमामा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, र गायनमा प्रशान्त सिवाकोटी, मेलिना राई, र पुष्पन प्रधानको स्वर रहेको छ। पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्।

सम्बन्धित समाचारसबै