सिनेसुत्र, बिराटनगर- उडान स्टुडियोको प्रस्तुति रहेको नेपाली सिनेमा ‘आशा’को छायांकन सम्पन्न भएको छ । एक महिने सेड्युल लिएर फ्लोरमा निस्किएको सिनेमाको छायांकन निर्धारित सेड्युलअनुसार नै सम्पन्न भएको निर्मात्री शर्मिला थापाले जानकारी दिइन् । उनका अनुसार सिनेमाको छायांकन काठमाडौं उपत्यकासँगै नमोबुद्ध र धुलिखेल आसपासमा गरिएको हो ।
‘हामी योजना अनुसार नै छायांकन सम्पन्न गरेर पोस्ट प्रोडक्सनको काममा जुट्दै छौँ । कलाकार र प्राविधिकहरूको मेहनत र कामको प्रतिफल नै हाम्रो योजना अनुरूप सबै काम सम्पन्न भएको छ । हामीले जे सोचेर छायांकनमा निस्किएका थियौँ, त्योभन्दा राम्रो काम भएको आभाष भएको छ । नेपालीपन बोकेको कथालाई प्राविधिक रूपमा अब्बल बनाएर दर्शकमाझ ल्याउने छौँ’, उनले भनिन् ।
उनले सिनेमाको इन्डक्ल्याप समारोहमा सिनेमाका एक प्राविधिक अर्जुन घिमिरेलाई नगद राशि ५१ हजार रुपैयाँ सहयोग गरेकी छिन् । ‘आशा’मा प्राविधिक टिममा रहेर स्पोटब्वाईका रूपमा काम गरिरहेका प्राविधिक अर्जुनकी श्रीमती ‘ब्लड क्यान्सर’बाट पीडित रहेको जानकारी पाएपछि पारिश्रमिकबाहेक उपचारका लागि उक्त रकम सहयोग गरेकी थिइन् ।
उक्त रकम ग्रहण गर्दै प्राविधिक घिमिरेले निर्माण टिमलाई धन्यवाद दिए । ‘यहाँ काम गरेकै पैसा समयमा पाइँदैन, तर छायांकन सकिएलगत्तै मैले पाएको अतिरिक्त सहयोगका लागि आभारी छु । निर्मात्री थापालाई धन्यवाद’, उनले भने । सिनेमामा शुशांक मैनाली, महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी, बालकलाकार चिराग श्रेष्ठ, काश्वी भण्डारी लगायतको अभिनय रहेको छ । सिनेमामा कथा तथा निर्देशन राजिव गुरुङको रहेको छ ।
‘यो कथालाई पर्दामार्फत दर्शक हुँदै परिवारसम्म लैजानु पर्छ भन्ने लागेर नै सिनेमामा ल्याउँदैछौँ । एउटा मनछुने पारिवारिक कथामा सिनेमा तयार गर्दैछौँ’, उनले भने ।
आगामी माघेसंक्रान्तिको अवसर पारेर माघ १ मा प्रदर्शन हुने सिनेमालाई रीच इन्टरटेनमेन्टले वितरण गर्दैछ । सिनेमामा सहलेखक रामकुमार श्रेष्ठ, स्क्रिप्ट सुपरभाइजर तथा कास्टिङ निर्देशक सुदाम सिके, सिनेम्याटोग्राफर नरेन्द्र मैनाली, संगीतकार युग भुसाल र समीर खरेल, साउण्ड डिजाइनर किशोर आचार्य, सम्पादक लोकेश बज्राचार्य, मेकअप एण्ड हेयर सोनाली शिल्पकार रहेका छन् ।
यस्तै, सिनेमामा मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने, सहायक निर्देशक शान्ति तामाङ, प्रोडक्सन म्यानेजर अरुण रेग्मी, प्रोडक्सन डिजाइनर रेलिजा श्रेष्ठ, पब्लिसिटी डिजाइनर रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) र वितरक करण श्रेष्ठ (रीच इन्टरटेनमेन्ट) रहेका छन् ।