मल्टीस्टारकास्ट ‘पाँच पाण्डव’को स्वरांकन सुरु : साउन्डमा गरिएन कुनै कम्प्रमाइज

0 Shares

सिनेसुत्र, बिराटनगर- मल्टीस्टारकास्टका कारण चर्चा र प्रतीक्षामा रहेको सिनेमा ‘पाँच पाण्डव’को स्वरांकन सुरु गरिएको छ। बिहीबार म्युजिक नेपालले सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा ‘पाँच पाण्डव’को स्वरांकनको काम सुरु गरिएको हो।गौशाला पिंगलास्थानस्थित नेपाल संगीत विद्यालयमा रहेको स्टुडियोमा सिनेमा ‘पाँच पाण्डव’का सम्पूर्ण कास्ट एन्ड क्रूको सहभागिता रहेको थियो। तिहारमा रिलिज हुने सिनेमाको स्वरांकनको सुरुवात यस सिनेमाका मुख्य पात्र हरिवंश आचार्यले गरेका छन्।

निर्माणपक्षले पूरै साउन्डको काम डल्बी एट्मसमा गराएसँगै ‘पाँच पाण्डव’ हेर्ने दर्शकले फुल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने भएका छन्। हामीले पोस्टको काम सुरु गरेसँगै स्वरांकन गर्न थालेका छौँ,” निर्देशक वसन्त निरौलाले भने, “हामीले कुनै पनि कम्प्रमाइज गरेका छैनौँ। हामी दर्शकलाई साउन्डको फरक टेस्टसहित प्राविधिक रूपमा पनि अब्बल सिनेमा दिनेछौँ, जुन सिनेमामा देखिने र महसुस हुने छ।

चार दशकदेखि नेपाली संगीतको क्षेत्रमा सक्रिय कम्पनी म्युजिक नेपालले गत वर्षको माघदेखि करिब १० करोड रुपैयाँको लगानीमा मुलुकमा पहिलोपटक डल्बी एट्मसद्वारा मान्यताप्राप्त पोस्ट-प्रोडक्सन स्टुडियो सञ्चालनमा ल्याएको हो।काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस सिनेमामा नेपाली सिने जगतका दिग्गज तथा नयाँ पुस्ताका चर्चित कलाकारहरू एकसाथ देखिनेछन्। हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा छन्। दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, मोडल इभा गिरी, सिता न्यौपाने लगायतको पनि मुख्य भूमिका रहेको छ।

यस सिनेमाका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्। उनले यसअघि गत वर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए। सिनेमाको निर्मातामा काली रानी श्रेष्ठ छिन्। पाँच पाण्डवमा कथा पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ। यो सिनेमा ‘सोसल ड्रामा’ भएको लेखक पौडेलले स्पष्ट पारेका छन्। उनका अनुसार सिनेमाले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ।

झापा र काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खिचिएको यो सिनेमालाई श्याम तामाङले खिचेका हुन्। सिनेमामा सुप्रिम पराजुलीको सम्पादन तथा रङ्ग सम्पादन, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको बीजीएम, पुकार धिमालको भीएफएक्स, रोहित राज गौतम एचओपी र विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन्। तिहारमा रिलिज हुने यो सिनेमालाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ। सिनेमाको नाम, कथा र मल्टीस्टारकास्टका कारण ‘पाँच पाण्डव’लाई प्रतीक्षित सिनेमाका रूपमा हेरिएको छ।

 

सम्बन्धित समाचारसबै