भलिबल खेलाडीको संघर्ष र समर्पणको कथा : ‘बुकी’को ‘तनमनमा भलिबल’ सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘बुकी’को गीत सार्वजनिक गरिएको छ। विवश कुमार माझी र मोहन केसीको निर्देशनमा निर्माण भएको सिनेमामा समावेश ‘तनमनमा भलिबल’ बोलको गीत सार्वजनिक गरिएको हो। यसरी भलिबलकै बारेमा सम्भवतः बनाइएको यो पहिलो नेपाली गीत हो। सार्वजनिक गीतमा मोहन केसीको शब्द तथा दीपक शर्माको संगीत रहेको छ। गीतमा प्रमोद खरेल र रचना रिमालको स्वर छ। भलिबलका लागि सम्पूर्ण जीवन नै समर्पित गरेको कथामा गीत तयार गरिएको हो। भलिबल खेलेरै देश चिनाउने र आफू पनि चिनिने भाव बोकेको गीत मुख्यतः खेलाडीहरूप्रति समर्पित छ।

खेलका लागि त्याग र तपस्या गर्ने खेलाडीको सम्मानमा तयार गरिएको यो गीत भलिबलको राष्ट्रिय गीत बन्न योग्य रहेको निर्माण पक्षको दाबी छ। गीतको भिडियोले गीतमा थप प्राण भरेको छ। भलिबलप्रति खेलाडीले देखाएको समर्पण, राम्रो खेलाडी बन्न गरेको अभ्यास तथा प्रतियोगिता र भलिबलप्रतिको आकर्षणले गीतलाई प्रभावशाली बनाएको छ। हिमाली तथा उच्च पहाडी गाउँमा भलिबलप्रति रहेको आकर्षणलाई समेत गीतले प्रस्ट पारेको छ।

गीतको भिडियोमा गायक तथा अभिनेता देबेन्द्र बब्लु र अभिनेत्री रोशनी कार्की फिचर्ड छन्। भिडियोमा बाग्लुङको ढोरपाटन तथा आसपासका सुन्दर क्षेत्रलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ। ‘हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मस’को प्रस्तुति रहेको सिनेमा ‘बुकी’मा सुरक्षा पन्त, देबेन्द्र बब्लु र रोशनी कार्की मुख्य भूमिकामा छन्। यस्तै, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, घनु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईं लगायतका कलाकारको अभिनय देख्न सकिनेछ।सिनेमाको छायांकन काठमाडौं, पोखरा र विशेषगरी बाग्लुङको ढोरपाटन लगायतका रमणीय क्षेत्रमा गरिएको छ। लक्ष्मण सापकोटा, अमिषा थापा कौचा र रमेश थापा निर्माता रहेको सिनेमाका कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी रहेका छन्। राजेश थापा र बसुन्धरा खरेल क्रिएटिभ प्रोड्युसर तथा जितु थापा र सुनील बुढाथोकी को-प्रोड्युसरका रूपमा रहेका छन्।

सिनेमामा आशुका अर्याल एसोसिएट डिरेक्टर, आचार्य गोपाल चिफ असिस्टेन्ट डिरेक्टर तथा टाइग्रिस, निशा दाहाल र उज्वल अधिकारी सहायक निर्देशकका रूपमा रहेका छन्। विकास गन्दर्भको डीओपी रहेको सिनेमालाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन्। श्याम मल्लको श्रृंगार तथा थम्मन थापाको प्रोडक्सन हेड रहेको छ।

सम्बन्धित समाचारसबै