यस्तो छ ‘जदौ’ सिनेमाको टिजर : नयाँ पुस्ताको प्रेमदेखि अभिभावक पुस्ताको द्वन्द्वसम्म

0 Shares

सिनेसुत्र, बिराटनगर- ‘जदौ’ सिनेमाको टिजर शनिबार सार्वजनिक गरिएको छ । युट्युब च्यानल हाइटेक इन्टरटेन्मेन्टमार्फत दर्शकमाझ ल्याइएको करिब एक मिनेट लामो टिजरमा नयाँ पुस्ताका युवायुवतीको त्रिकोणात्मक प्रेमका साथमा अभिभावकबीचको विवाद प्रस्तुत गरिएको छ ।

अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको सिनेमाको टिजरले सबै वर्गका दर्शकलाई आकर्षित गर्ने देखिन्छ । टिजरले अभिनेता प्रभातपाल ठकुरीको अभिनेत्री नीति शाह र राजश्री थापाबीच प्रेमप्रसंग रहेको आभास गराएको छ भने अभिभावक पुस्ताको प्रतिनिधित्व अभिनेता मुकुन भुसाल र अभिनेत्री ऋचा शर्माले गरेका छन् ।

असोज ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने ‘जदौ’ लाई अन्तरजातीय प्रेमजोडीको सामाजिक कथाका रूपमा बताइँदै आइएको छ । नेपाली समाजमा व्याप्त जातसम्बन्धी विभेदकारी व्यवहारले उत्पन्न समस्या र त्यसको निराकरणका लागि चालिएको पाइलालाई सजीव ढंगले प्रस्तुत गरिएको निर्देशक अन्जन शर्माले बताएका छन् ।

लेखकसमेत रहेका अर्का निर्देशक काजी लिम्बूले सिनेमामा भरपुर मनोरञ्जनका साथमा जातीय भेदभाव र असमानताको खाडल पुर्न मननीय सन्देश उजागर गरिएको उल्लेख गरेका छन् ।समीश्रण मुभीज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको सिनेमामा मुकुन, ऋचा, नीति, प्रभातपाल, राजश्रीका साथमा विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा, रोहित कार्की, स्वस्तिका चौधरीलगायतको अभिनय छ ।

प्रीति कौर, बाबुल गिरी र गोपाल लोहारको शब्द, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत तथा राजनराज शिवाकोटी, रचना रिमाल, किरण गजमेर र बाबुल गिरीको स्वर रहेको ‘जदौ’ का गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । श्याम तामाङ र नवराज उप्रेतीले खिचेको सिनेमालाई बनिष शाहले सम्पादन गरेका हुन् । राजाराम सुवेदी, सुमीत्रा देवकोटा, दीपक पोखरेल र नारायण शास्त्री सहनिर्माता रहेको सिनेमाको निर्मातामा सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल छन् । शान्ति पुडासैनी कार्यकारी निर्माता रहेको सिनेमाको प्रोडक्सन हेड बिमला भण्डारी छिन् । सिनेमालाई एनजिसिएन ग्रुपले देशव्यापी रूपमा वितरण गर्दैछ ।

सम्बन्धित समाचारसबै