सिनेसुत्र, बिराटनगर- भदौ १२ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘पार्वती’को चितवनस्थित म्याङ्गो जनज्योति हलमा ‘पब्लिक प्रिमियर’ सम्पन्न भएको छ। मंगलबार भएको उक्त प्रिमियरमा सिनेमाका कलाकार नीता ढुङ्गाना र अशोक दर्जी क्यारेक्टर लुक्समै उपस्थित भएका थिए। पर्दामा देखेको उक्त लुक्सलाई आँखै अगाडि देख्दा नीताप्रति दर्शकले माया बर्साएका थिए। सिनेमा हेरेका दर्शकका आँखाभरि आँसु देखिन्थे। अधिकांशले आफ्नै घरभित्रको कथा भन्दै सकारात्मक प्रतिक्रिया दिए।
सिनेमा अटिजम भएकी महिला पात्र र उनका भाइबीचको आत्मीयता, प्रेम तथा समाजसँगको संघर्षलाई मुख्य विषयवस्तु बनाइएको छ। यस सिनेमाको प्रिमियरमा उपस्थित सर्वसाधारण दर्शकबाट निर्माण टिमले सकारात्मक प्रतिक्रिया पाएको छ। दिदीलाई घर तथा समाजले गरेको हेलाका बीच पनि भाइले दिदीप्रति देखाएको माया र समर्पणको कथाले दर्शकको मन छोएको निर्देशक तथा कथाकार नीताले बताइन्।
दर्शकको सकारात्मक प्रतिक्रियापछि निर्माण पक्ष उत्साहित देखिएका छन्। प्रिमियरपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्देशक तथा अभिनेत्री नीता ढुङ्गानाले आफ्नो निर्देशन र सिनेमालाई दर्शकले मन पराइदिएकामा खुसी व्यक्त गरिन्।
सिनेमा प्रदर्शनको पूर्वसन्ध्यामा प्रचारप्रसारका लागि निर्माण टिम र कलाकारहरूको टोली देशका प्रमुख सहरहरूको भ्रमणमा छ। सोही क्रममा मंगलबार चितवन पुगेको टोलीले ‘पार्वती’ले दर्शकलाई फरक स्वाद दिने र हलमा दर्शकको साथ पाउनेमा आफूहरू विश्वस्त रहेको जनाएको छ।
प्रचारप्रसारका क्रममा चितवन पुगेका बालगायक तथा कलाकार अशोक दर्जीले सिनेमा काम गर्दाको अनुभव साटेका छन्। उनले यो सामाजिक कथामा आधारित सिनेमा भएकाले सबैलाई हेर्न आग्रह गरे। सिनेमामा दिदीको भूमिकामा नीता ढुङ्गाना र भाइको भूमिकामा अशोक दर्जी रहेका छन्।
निर्देशक नीताको कथा तथा हरिहर अधिकारीको निर्माण रहेको यस सिनेमामा नीता र अशोकका साथै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पङ्गेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायतका कलाकारहरूको अभिनय रहेको छ। अब शुक्रबारदेखि हलमा लाग्ने यो सिनेमाले दर्शकको कस्तो प्रतिक्रिया पाउने हो, त्यसका लागि केही समय प्रतीक्षा गरौँ।