सिनेसुत्र, बिराटनगर- गत मंगलबार रसुवा जिल्लाको भोटेकोशीमा आएको अकल्पनीय बाढीले ठूलो जनधनको क्षति गर्यो। रसुवा, नुवाकोट, धादिङ लगायत आसपासका जिल्लामा बाढीबाट भएको क्षतिको विवरण अझै आउन बाँकी छ।
सोही बाढीपीडितका लागि हलमा प्रदर्शनरत सिनेमा ‘पार्वती’को टिमले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ११ लाख ३ हजार २७० रुपैयाँ रकम प्रदान गर्ने घोषणा गरेको छ। अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई निर्देशक नीता ढुङ्गाना, निर्माता हरिहर अधिकारी, कार्यकारी निर्माता शंकर पाण्डे, वितरक करण श्रेष्ठका साथै वरिष्ठ पत्रकार प्रकाश सुवेदीले उक्त रकम प्रदान गरेका हुन्।
शुक्रबार देशभरबाट घरेलु बक्सअफिसमा २५ लाख ९३ हजार रुपैयाँ ग्रस कमाइ भएको थियो। सोही कमाइबाट निर्माताको भागमा आउने कुल रकम कोषलाई प्रदान गरिएको हो। सिनेमाकी निर्देशक नीता ढुङ्गानाले अकल्पनीय घटनामा परेका पीडितलाई राहतस्वरूप उक्त रकम सरकारी कोषमा जम्मा गरेको बताइन्। उनले भनिन्, ‘निर्माताको भागमा आउने ११ लाख ३ हजार २७० रुपैयाँ प्रधानमन्त्री कोषमा प्रदान गरेका छौँ। यो रकमले बाढीपीडितका लागि थोरै भए पनि राहत मिल्न सक्छ।
निर्देशक ढुङ्गानाले आफूले पैसा कमाउन मात्र नभएर कर्मका लागि पनि भोटेकोशी बाढीपीडितलाई रकम प्रदान गरेको बताएकी छन्। उनको यो कार्यको चौतर्फी प्रशंसा भइरहेको छ। उनले सिनेमा प्रदर्शनमा रहुन्जेलको ५ प्रतिशत रकम बाढीपीडितलाई दिने निर्णय गरेको पनि बताएकी छन्। निर्माता हरिहर अधिकारीले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत रकम कोषमा प्रदान गरेको बताए। उनले भने, हामीले पहिलो दिनको रकम कोषमा राखेका हौँ। यो बाहेक छुट्टै पनि कोषको क्यूआरमार्फत रकम जम्मा गरिदिएका छौँ।
सिनेमाका अर्का अभिनेता तथा बालगायक अशोक दर्जीले पनि २५ हजार रुपैयाँ कोषमा जम्मा गरिदिएका छन्। बाढीका कारण सयौँ घर बगेको अवस्थामा दर्शक सिनेमा हेर्न अपेक्षाअनुसार हलसम्म पुग्न सकेका छैनन्। तर निर्माण पक्षले समय र परिस्थितिको मारमा पनि सामाजिक उत्तरदायित्व निर्वाह गरेको छ। सिनेमाका वितरक करण श्रेष्ठले दोस्रो दिन शनिबार देशव्यापी रूपमा करिब ४२ लाख रुपैयाँ ग्रस कमाइ भएको जानकारी दिएका छन्। हिजो र आजको कमाइ भने सार्वजनिक भइसकेको छैन।
यो सिनेमाको सोमबार पनि देशभरका हलमा उल्लेखनीय शो रहेको छ। भोलि मंगलबार देशभरका हलमा शो संख्या एक सयभन्दा बढी रहेको जनाइएको छ। निर्देशक नीताकै मुख्य भूमिकामा रहेको यस सिनेमामा अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्त प्रकाश अधिकारी, राधिका कँडेल लगायतको मुख्य भूमिका छ।
निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको सिनेमामा शिवम् अधिकारीको लेखन छ। यसका कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने हरिहर अधिकारी निर्माता रहेका छन्। सिनेमाको वितरणको जिम्मा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन्।