प्रदर्शनको एक साताअघि सडकमा ‘अक्षरा’ टिम : रथयात्रा गर्दै थालियो प्रचारप्रसार

0 Shares

सिनेसुत्र, बिराटनगर- भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘अक्षरा’ टिमले सिनेमाको प्रमोसनमा जुटेको छ। सिनेमा प्रदर्शनमा आउन एक साता बाँकी छँदा निर्माण पक्ष प्रमोसनमा जुटेको हो। कृष्ण अष्टमीको अवसर पारेर निर्माण टिमसहित कलाकारले रथयात्रा गरेको छ। शुक्रबार बौद्धमा सिनेमाका मुख्य कलाकार सुशील सिटौला, पुष्कर राउत, सिनेमा निर्देशक विनयराज पौडेल तथा निर्माताहरूको उपस्थिति रहेको थियो।

निर्देशक पौडेलले भने, सिनेमाको प्रदर्शन नजिकिँदै गर्दा अब प्रमोसनको कामलाई अगाडि बढाउन थालेका हौँ। के गर्नु सिनेमा चल्ने दिन आइसक्यो, प्रमोसन पनि नगरी भएको छैन। गर्नैपर्‍यो। गत १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपहिरोको कारण स्तब्ध बनेको निर्माण टिम आफ्नो सिनेमाको प्रमोसनमा लागेको हो। हिजो मात्रै यस सिनेमाकी अभिनेत्री न्यान्सी खड्काले नुवाकोटका विभिन्न स्थानमा बाढीपीडितलाई राहतका सामग्री बाँडेर फर्किएकी थिइन्।विनयराज पौडेल निर्देशित यस सिनेमामा न्यान्सीका अलावा सुशील सिटौला, सुशील पोखरेल, उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, सृष्टि खड्का, गीता अधिकारी लगायत कलाकारहरूको अभिनय छ। दिपेन बस्न्यातको छायाङ्कन रहेको यस सिनेमामा गौतम खड्काले सम्पादन गरेका हुन्। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्मित सिनेमाको प्रस्तुतकर्ता सोनी थापा हुन्। उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता हुन्।

सम्बन्धित समाचारसबै