सिनेसुत्र, बिराटनगर- नबिन पन्तको लेखन तथा निर्देशनमा बन्न लागेको नेपाली सिनेमा ‘बाकस’मा भोलाराज सापकोटा र सुपला सापकोटा अनुबन्ध भएका छन्। निर्माण पक्षले भोला र सुपलालाई अनुबन्ध गरेसँगै छायांकनमा जाने निधो निकालेको छ।
सिनेमाका निर्देशक पन्तले भोला र सुपलालाई सिनेमा ‘बाकस’मा अनुबन्ध गरेसँगै अब दसैंपछि छायांकन थाल्ने बताए। उनले कुराकानीमा भने, ‘सिनेमाका लागि कलाकारहरूको टिम करिब करिब पुग्ने अवस्थामा छ। अझै केही कलाकार तथा प्राविधिकको छनोट अन्तिम टुंगो लगाउने काम भइरहेको छ। तर हामी सबै कुरा छिट्टै मिलाएर दसैंपछि सुटिङमा निस्किन्छौँ।
यसअघि यो सिनेमामा विपना थापा, वर्षा राउत र महेश त्रिपाठी अनुबन्ध भइसकेका छन्। ‘बाकस’को निर्माण सुजिता चौलागाईंले गर्नेछिन् भने छत्रबहादुर खड्का सह–निर्माता र धिरेन्द्र पन्त (धिरु भाइ) कार्यकारी निर्माता रहेका छन्।
सिनेमामा संगीत दीपक शर्मा र सनम पुरुष राईको रहनेछ। गीत तथा शब्दमा दीपक शर्मा र निर्देशक पन्तकै रहनेछ भने मुख्य सहायक निर्देशकमा मनि तामाङ, द्वन्द्व निर्देशकमा किरण दाहाल र प्रोडक्सन म्यानेजरमा निर्मल न्यौपाने रहेका छन्। सिनेमाको प्रदर्शन मिति भने अहिले तोकिएको छैन। निर्माण पक्षका अनुसार सिनेमाको सुटिङ सकेपछि प्रदर्शन मिति तोक्ने योजना रहेको छ।