सिनेसुत्र, बिराटनगर- असोज ९ गते अर्थात् यही शुक्रबारदेखि प्रदर्शनमा आउने सिनेमा ‘बा : एक योद्धा’ले काठमाडौंमा सम्पन्न प्रिमियरमा उत्साहजनक प्रतिक्रिया पाएको छ । मंगलबार साँझ आयोजित प्रिमियरमा सिनेमा हेर्न पुगेका सिनेकर्मी, कलाकार, संगीतकर्मी तथा पत्रकारहरूले यसलाई नेपाली समाजका धेरै परिवारको यथार्थसँग जोडिएको कथा भन्दै प्रतिक्रिया दिएका छन् ।
नेपालगञ्ज, दाङ, धरान र बुटवलमा आयोजित प्रदर्शनबाट पनि सकारात्मक प्रतिक्रिया पाएको सिनेमाले विशेषगरी सन्तानका लागि बुबाले गर्ने त्याग, संघर्ष र बुढेसकालमा सन्तानबाटै भोग्नुपर्ने पीडालाई कथाको केन्द्रमा राखेको छ ।
पछिल्लो समय रोजगारी, अध्ययन तथा विभिन्न अवसरको खोजीमा सन्तान विदेशिने क्रम बढ्दै जाँदा घरमा रहेका वृद्ध बुवाआमाले भोग्ने एक्लोपन, उपेक्षा र पारिवारिक दूरीलाई सिनेमाले उठाएको प्रतिक्रिया प्रिमियरमा सुनियो । सन्तानको भविष्यका लागि जीवनभर संघर्ष गर्ने बुवाआमाको कथा र परदेश पुगेपछि परिवार तथा अभिभावकप्रतिको जिम्मेवारीबाट टाढिँदै जाने सन्तानको व्यवहारबीचको द्वन्द्व सिनेमामा देखाइएको छ ।
प्रिमियरमा सहभागी दर्शकले सिनेमाको कथा धेरै परिवारसँग जोडिन सक्ने बताए । विशेषगरी आफ्नै सन्तानबाट बुवाआमाले भोग्नुपर्ने अपमान, बेवास्ता र पीडालाई पर्दामा प्रस्तुत गरिएकाले दर्शकले यसलाई आफ्नै घरको कथाका रूपमा महसुस गर्न सक्ने प्रतिक्रिया उनीहरूको थियो ।
सिनेमा हेरेपछि अभिनेता हरिवंश आचार्यले आफू भावुक बनेको बताए । उनले सिनेमाले वर्तमान समाजमा युवाहरूको बढ्दो अपेक्षा र पलायनसँगै बुवाआमाले सन्तानका लागि गर्ने त्यागलाई प्रस्तुत गरेको बताए ।
उनका अनुसार आफूले भोगेको बुवाको समय र सिनेमाको परिवेश फरक भए पनि अहिलेको आधुनिक समाजको वास्तविकतासँग सिनेमाको कथा नजिक छ । उनले भने, मलाई सिनेमा राम्रो लाग्यो । रुन मन लाग्यो । सितिमिति लोग्नेमान्छे रुँदैनन्, मनमनै रोएँ ।
आफ्ना सन्तानको इच्छा पूरा गर्नु नै बुवाआमाको सबैभन्दा ठूलो चाहना हुने उल्लेख गर्दै आचार्यले सिनेमाले यही भावलाई एउटा बुवाको चरित्रमार्फत प्रस्तुत गरेको बताए ।
उनले सिनेमामा दिव्यदेवले निर्वाह गरेको बुवाको भूमिकाको पनि प्रशंसा गरे । सिनेमाको सुरुवाती करिब ४०–४५ मिनेटमा कथा विस्तारै अघि बढेजस्तो लागे पनि त्यसपछि सिनेमाले दर्शकलाई समात्दै लैजाने उनको प्रतिक्रिया थियो ।
सबै कलाकारको पर्फर्मेन्स एकदमै राम्रो छ । टेक्निक्ली पनि क्यामेरा र अरू सबै राम्रो छ । समष्टिगत रूपमा सिनेमा राम्रो लाग्यो, उनले भने । विशेषगरी दिव्यदेवलाई सिनेमाले दिएको जिम्मेवारी उनले राम्रोसँग पूरा गरेको आचार्यको भनाइ थियो । आगामी पुस्ताले पनि बुवाआमाको मन र सन्तानप्रतिको उनीहरूको त्याग बुझ्न सिनेमा हेर्नुपर्ने उनले बताए ।
पूर्व गृहमन्त्री ओमप्रकाश अर्यालले ‘बा : एक योद्धा’लाई उत्कृष्ट सिनेमाका रूपमा व्याख्या गरे । उनले सिनेमाको कथावस्तु, प्रस्तुति र सन्देश तीनवटै पक्ष आफूलाई प्रभावकारी लागेको बताए । उनका अनुसार सिनेमाले अहिलेको समाजमा बढ्दै गएको स्वार्थ र त्यसले पारिवारिक सम्बन्धमा पारिरहेको असरलाई देखाएको छ ।
हाम्रो आफ्नो जनजीवनमा जे अवस्था छ, कथावस्तुले त्यसलाई समेटेको छ । कथा उत्कृष्ट छ, प्रस्तुति पनि उत्कृष्ट छ र यसले दिन खोजेको सन्देश पनि उत्कृष्ट छ,” उनले भने । परिवारभित्र छोरा-छोरी र बुहारीले आफ्नो स्वार्थलाई केही कम गर्न सके बुवाआमाले भोग्नुपर्ने धेरै समस्या नआउने उनको भनाइ थियो । सिनेमामा असल पात्रहरूले नै दुःख र अन्याय भोग्नुपर्ने अवस्था देखाइएको भन्दै उनले त्यसलाई समाजको वास्तविकतासँग नजिक रहेको बताए ।
सिनेमाले उठाएको विषयले पारिवारिक सम्बन्धमा आत्मसमीक्षा गर्न प्रेरित गर्ने बताउँदै अर्यालले समाजमा देखिने यस्ता अवस्थाहरू परिवर्तन हुनुपर्ने धारणा राखे । अभिनेत्री ऋचा शर्माले सिनेमालाई “एकदमै मिठो” प्रतिक्रिया दिइन् । उनले अभिनेत्री झरना थापाको अभिनयको प्रशंसा गर्दै सुहाना थापामा पनि अभिनयको निखार क्रमशः बढ्दै गएको बताइन् ।
तर सिनेमाको मुख्य आकर्षणका रूपमा उनले अभिनेता दिव्यदेवलाई उल्लेख गरिन् । यो सिनेमाको सुपरस्टार को हो भन्ने हामी सबैलाई थाहा छ-दिव्य देव पन्त, उनले भनिन्, उहाँजस्तो कलाकारले सफलताको शिखर चुम्नुपर्छ भन्ने मेरो बुझाइ हो ।
कलाकारको सहज देखिने अभिनयका पछाडि ठूलो मेहनत हुने उल्लेख गर्दै ऋचाले दिव्यदेवको अभिनयमा आफूले त्यही मेहनत देखेको बताइन् । उनले सिनेमाले दिव्यदेवलाई आफ्नो अभिनय क्षमता देखाउने राम्रो अवसर दिएको र सिनेमाको सफलताको सबैभन्दा ठूलो हकदारमध्ये उनी पनि रहेको धारणा राखिन् ।
सिनेमा ‘एलिफेन्ट्स इन द फग’की अभिनेत्री पुष्पा थिङ लामाले पनि ‘बा : एक योद्धा’ले आफूलाई भावुक बनाएको बताइन् । विशेषगरी दिव्यदेवले निर्वाह गरेको बुवाको चरित्र र सिनेमामा आउने “तिम्रो एक खिली चुरोटले मलाई ऋणी बनायो” भन्ने संवादले आफूलाई निकै छोएको उनको प्रतिक्रिया थियो ।
“धेरै ठाउँमा रुवायो । अझ स्पेशली ‘तिम्रो एक खिली चुरोटले मलाई ऋणी बनायो’ भन्ने संवादले निकै छोयो । त्यो कस्तो निरीह अवस्था ! कसैको बुवा अथवा कसैको जिन्दगीमा त्यस्तो अवस्था नआओस् भन्ने लाग्यो,” उनले भनिन् । सन्तानले बुवाआमाप्रति आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउँदै उनले सिनेमाले यही विषयलाई गम्भीर रूपमा सम्झाएको धारणा राखिन् ।
‘बा : एक योद्धा’को मुख्य कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीमा केन्द्रित छ । सन्तानको इच्छा पूरा गर्न बुवाआमाले गर्ने संघर्षसँगै वृद्ध अवस्थामा उनीहरूले पाउने व्यवहारलाई सिनेमाले कथामा समेटेको निर्माण पक्षले जनाएको छ ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको सिनेमामा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै हो । वसन्त लम्साल निर्माता रहेको सिनेमामा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माता छन् ।
शिवराम श्रेष्ठको छायांकन रहेको सिनेमाको मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन् । सिनेमालाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ । ‘बा : एक योद्धा’ असोज ९ गते अर्थात् यही शुक्रबारदेखि प्रदर्शनमा आउनेछ ।