



सिनेसुत्र, बिराटनगर – नेपाली सिनेमा ‘कार्साङ्’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ, जस सँगै निर्माण टिमले पुस २६ लाई रिलिज मिति घोषणा गरेको छ।
पोस्टरमा प्रमुख पात्रहरू दयाहाङ राई र सिर्जना निङलेखुलाई प्रमुख स्थानमा देख्न सकिन्छ।

पोस्टरमा दयाहाङलाई हिलो लागेको सुरुवालमा प्रस्तुत गरिएको छ, जसले उनको पात्र कुनै झगडामा संलग्न भएको संकेत गर्दछ।
सिर्जना निङलेखु, जो सिनेमामा दयाहाङको श्रीमतीको भूमिकामा छिन्, रोइरहेको अवस्थामा देखिन्छिन्।
आँगनमा पोखिएको पदार्थ र चुलामा बालिएको आगोले उनीहरूको जीवन रक्सी उत्पादनसँग कसरी गाँसिएको छ भन्ने संकेत गरेको छ।
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा छायाङ्कन गरिएको यो सिनेमा सामाजिक कथावस्तुमा आधारित छ।
यम शेर्पाको निर्देशनमा बनेको यस सिनेमामा दयाहाङ र सिर्जनासँगै जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन लगायतका कलाकारहरूको अभिनय रहेको छ। सिनेमाको छायाङ्कनको जिम्मा पुरुषोत्तम प्रधानले लिएका छन्, जो यस सिनेमाका निर्माता पनि हुन्।
‘कार्साङ्’लाई यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सले संयुक्त रूपमा प्रस्तुत गरेका छन्।