सिनेसुत्र, बिराटनगर- कस्तुरी प्रोडक्सन प्रा.लिको प्रस्तुति तथा क्लासिक सिने यूनिभर्स प्रा.लिको सहकार्यमा निर्माण हुन लागेको नयाँ सिनेमा ‘सिन्दूर’को छायांकन आजबाट सुरु भएको छ। पश्चिम नेपालको दाङ जिल्लाबाट सिनेमाको छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ।
लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा तयार हुन लागेको यो सिनेमामा सञ्जीव सार्कीको लगानी रहनेछ। लक्ष्मणले यसअघि निर्देशन गरेका ‘बुलाकी’ र ‘परालको आगो’ सर्वाधिक चर्चामा थिए। सिनेमाका कार्यकारी निर्माता दिनेश सिंह महरा हुन्।
संकल्प भुजेलको छायांकन रहने यो सिनेमामा प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकालको संगीत रहनेछ। प्रकाश हमाल निर्माण प्रमुख रहेको सिनेमामा करण बहादुर साउदको मुख्य सहायक निर्देशन तथा रामजी लामिछानेको नृत्य निर्देशन रहने पक्का भएको छ।
सिनेमामा नायक पुष्प खड्का र नायिका प्रशंसा रायमाझीको जोडीलाई पर्दामा हेर्न पाइनेछ। एक महिनाको सेड्यूल तयार गरेर छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ। यो सिनेमाले सामाजिक कथावस्तुलाई उठान गरेको छ। एक महिलाका लागि सिन्दूरको महत्व कति छ भन्ने कथालाई सिनेमाले प्रस्तुत गर्नेछ।
