‘१२ गाउँ २’को प्रेमिल गीत ‘लालीगुराँस’ सार्वजनिक : समीर र कृशुको रोमान्टिक जोडी

0 Shares

सिनेसुत्र, बिराटनगर- वर्षकै प्रतीक्षितमध्येको एक सिनेमा ‘१२ गाउँ २’ को गीत ‘लालीगुराँस’ सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक गरिएको गीतमा शिव परियार र सारोही कुमारको स्वर छ। गीतमा शब्द र संगीत युग भुसालको रहेको छ।

प्रेमिल गीतले प्रकृतिलाई बिम्ब बनाएर एकअर्काप्रतिको समर्पण प्रस्तुत गरेको छ। युवक र युवतीले एकअर्कालाई चाहेपछि हुने समर्पण गीतमा समेटिएको छ। प्रेमको बन्धनमा परेपछिको मायालु जोडीले गर्ने अनुभव र कल्पना गीतमा उल्लेख छ। मायालुको सम्झनामा नाम नै जीवन जिउनका लागि काफी हुने आदर्शसमेत गीतले समेटेको छ। गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार समीर भट्ट र कृशु शाहीको नृत्य छ। कोरियोग्राफी रामजी लामिछानेको छ। विराज भट्टको निर्देशन रहेको ‘१२ गाउँ २’ असोज ३० गते फूलपातीका दिनबाट प्रदर्शनमा आउँदैछ।सिनेमामा समीर र कृशुसहित निर्देशक बिराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ।

यसै सिनेमाबाट कृशु शाही र वर्षा इटनीले नेपाली रजतपटमा डेब्यु गरेका छन्। बिराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुति रहेको सिनेमाको कथा सन्तोष सरकारले लेखेका छन्। छायांकन महेश पौडेलले गरेका छन्।

सिनेमामा युग भुसाल र डीपी खनालको संगीत, बन्दे प्रसादको सम्पादन, रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन तथा स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ। सिनेमाको वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्नेछन्।

सम्बन्धित समाचारसबै