दशैंको रौनकसँगै सार्वजनिक भयो कार्तिक १३ मा आउने सिनेमा ‘परिवार’को ‘रातो टिका’

0 Shares

सिनेसुत्र, बिराटनगर- आगामी कार्तिक १३ गते रिलिज हुने सिनेमा ‘परिवार’को दशैं गीत ‘रातो टिका’ सार्वजनिक भएको छ। गीतमा बाबुल गिरीको स्वर, शब्द र संगीत छ भने बाबुललाई स्वरमा गायिका बबी लिम्बुले साथ दिएकी छन्। स्वरांकन स्टुडियोमा रेकर्ड गरिएको गीतमा बाबुलकै मिक्सिङ, मास्टरिङ तथा एरेन्ज छ।

दशैंको टिका लगाएपछिको रमाइलो माहोललाई प्रस्तुत गरिएको डान्सिङ नम्बरको गीतमा सिनेमाका कलाकारहरू कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, लक्ष्मीनाथ तिमिल्सिना, विनिता बस्नेतलगायतको अभिनय छ। गीतमा प्रयोग गरिएका लिङ्गे पिङ, चिटिक्क सजाइएका घर, सफा आँगनले गाउँको झल्को दिन्छ।गीत म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। रे अफ आर्ट प्रालिको व्यानरमा निर्माण भएको सिनेमाको यसअघि नै एक फस्टलुक र टिजर सार्वजनिक भइसकेको छ। टिजर र फस्टलुकलाई दर्शकले माया दिइरहँदा सार्वजनिक गीतलाई पनि दर्शकले उत्तिकै मनपराउनेमा निर्माण पक्ष ढुक्क छ।

शाही फिल्म प्रोडक्सन र विशआई फिल्मससँगको सहकार्यमा निर्माण भएको सिनेमामा मदन थापाको निर्देशन छ। ‘कहिले श्रीमानको वार, कहिले श्रीमतीको वार, मिल्दै जाँदा बन्यो परिवार’ नारा बोकेको सिनेमामा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापालगायतका कलाकारहरूको पनि अभिनय छ।

सिनेमामा प्रेम थापा र गणेश उपाध्यायको लेखन, निरज कँडेलको डीओपी, विशेष महर्जन र जयन्द्र कुँवरको छायांकन, एनबी महर्जनको एक्सन छ। रमेश शाही निर्माता रहेको सिनेमामा कैलाश रावल कार्यकारी निर्माता र आरम्भ रिजाल सह-निर्माताको रुपमा छन्।

सम्बन्धित समाचारसबै