सिनेसुत्र, बिराटनगर- एप्पल इन्टरटेन्मेन्टको व्यारनमा निर्माण भइरहेको सिनेमा ‘भिडियोटेप’को छायांकन ३१ दिनमा सकिएको छ। हरर जनराको यो सिनेमाको छायांकन भदौको पहिलो साताबाट उपल्लो मुस्ताङमा गरिएको थियो। यो सिनेमा ३ रात काठमाडौंमा पनि खिचिएको छ।
यो सिनेमामा नायिका उपासना सिंह ठकुरी र नायक कुन्दन मान शाक्यको मुख्य भूमिका छ। सिनेमामा अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जिवन अधिकारी, शेखर चापागाँई, सिद्धार्थ सिंह लगायतका कलाकारहरूको पनि मुख्य भूमिका छ।
सिनेमामा वशिष्ट प्रधानको डीओपी छ। सिनेमाका प्रोडक्सन म्यानेजर ईश्वर घिमिरे हुन्। यो सिनेमालाई ओविद उद्दिनले निर्देशन गरेका हुन्। ओविदले भने–‘हामीले निकै मिहिनेतका साथ काम गर्यौं। सिनेमाको सम्पूर्ण टिमले निकै मिहिनेत गरेका कारण समयमै छायांकन सकिएको हो।’
आफूलाई पहिलेबाट नै हरर सिनेमा मनपर्ने भएकाले यसतर्फ आकर्षित भएको ओविदको भनाइ छ। सिनेमामा महेश बरालको मुख्य सहायक निर्देशन छ। सिनेमाको प्रदर्शन मिति भने तय गरिएको छैन।