सिनेसुत्र, बिराटनगर- आगामी शुक्रबार अर्थात् असोज २३ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘अक्षरा’को प्रचारप्रसारलाई तीव्र पारिएको छ। आइतबार कीर्तिपुरबाट २ सय ५० भन्दा बढी साइकल यात्रीहरूले सिनेमाको टि–सर्ट लगाएर कपनको क्लब मण्डला पुगेका छन्। सिनेमाको प्रचारप्रसार स्वरूप उक्त र्याली गरिएको निर्देशक विनयराज पौडेलले बताए। उनले सिनेमाको प्रदर्शन मिति नजिकिँदै गर्दा दर्शकमाझ सिनेमालाई पुर्याउनका लागि यो कार्यक्रमको आयोजना गरिएको बताए।
उक्त कार्यक्रममा अभिनेत्री न्यान्सी खड्का, पुष्कर राउत, सिनेमाका निर्माता तथा निर्माण पक्षको उपस्थिति रहेको थियो। युनिभर्सल सर्टिफिकेट पाएको यस सिनेमालाई सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन्। २ घण्टा १४ मिनेट लामो यस सिनेमाले ‘आफ्नो छोरीले सुख पाउँछे’ भन्दै चिन्दै नचिनेको धनी केटासँग विवाह गराइदिएपछि उत्पन्न हुने पारिवारिक समस्याको कथा प्रस्तुत गर्ने निर्माण पक्षले जानकारी दिँदै आएको छ।
यस सिनेमामा न्यान्सीका अलावा सुशील सिटौला, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको अभिनय रहेको छ। साथै बालकलाकारमा रोनक खड्का र प्रीसा ढुङ्गाना छन्।
उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको यस सिनेमाको कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने छन्। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस सिनेमाको कथा निर्माता उग्रसेन आफैंले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्।
यस सिनेमाको प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन् भने सिनेमालाई दिपेन बस्न्यातले खिचेका हुन्। साथै सम्पादनको जिम्मा गौतम खड्काको छ। नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले नेपालभर सिनेमा वितरणको जिम्मा लिएका छन् भने सिनेमाको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।
