सिनेसुत्र, बिराटनगर- दशैंको उल्लासलाई थप विशेष बनाउने उद्देश्यसहित विराटनगरको हिमालय रोडमा छैटौं संस्करणको ‘विराट सडक महोत्सव–२०८३’ आयोजना हुने भएको छ । मञ्जिना मुभिज क्रियसन प्रा.लि.को आयोजनामा आगामी असोज २५ देखि ३० गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो ।
विराटनगर महानगरपालिकाको मुख्य प्रवर्द्धनमा आयोजना हुन लागेको महोत्सवले दशैंको समयमा विराटनगरको बजार क्षेत्रलाई सांस्कृतिक, खानपान तथा मनोरञ्जनात्मक गतिविधिको केन्द्र बनाउने आयोजकको अपेक्षा छ । छ दिनसम्म सञ्चालन हुने महोत्सवमा करिब ६० हजार दर्शक सहभागी हुने अनुमान गरिएको छ । महोत्सव दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुनेछ भने दर्शकका लागि प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ ।
महोत्सवमा विराटनगर तथा आसपासका विभिन्न जातजाति र समुदायका मौलिक खानाका परिकार विशेष आकर्षणका रूपमा रहनेछन् । त्यस्तै, स्थानीय उत्पादन, हस्तकलाका सामग्री तथा सांस्कृतिक सामग्रीको प्रदर्शनी तथा बिक्रीका लागि विभिन्न स्टल राखिनेछन् ।
स्थानीय कलाकार तथा सांस्कृतिक समूहले प्रस्तुत गर्ने सांगीतिक र सांस्कृतिक कार्यक्रमले महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउने आयोजकको भनाइ छ । दशैंलाई लक्षित गर्दै विभिन्न विशेष मनोरञ्जनात्मक गतिविधिसमेत सञ्चालन गरिनेछ । महोत्सवमा सहभागी दर्शकमध्येबाट चिट्ठामार्फत २५ किलोको खसी उपहार प्रदान गर्ने व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ । यसले महोत्सवमा दर्शकको सहभागिता थप बढाउने अपेक्षा गरिएको छ ।
आयोजकका अनुसार महोत्सवको मुख्य उद्देश्य विराटनगरको पर्यटन, कला, संस्कृति र स्थानीय पहिचानलाई प्रवर्द्धन गर्नुका साथै स्थानीय उत्पादन तथा व्यवसायलाई बजार उपलब्ध गराउनु हो । दशैंको अवसरमा स्थानीय व्यवसायी, कलाकार, उत्पादक तथा उपभोक्तालाई एउटै थलोमा जोड्ने प्रयासका रूपमा महोत्सवलाई अघि बढाइएको आयोजकको भनाइ छ ।
महोत्सवका कारण हिमालय रोड क्षेत्रमा सवारी आवागमनमा समेत विशेष व्यवस्थापन गरिने भएको छ । महोत्सव अवधिभर हुने दर्शकको चापलाई मध्यनजर गर्दै सडक तथा यातायात व्यवस्थापनलाई व्यवस्थित बनाइने आयोजकले जनाएको छ ।