सिनेसुत्र, बिराटनगर- कस्तुरी प्रोडक्सन प्रा.लिको प्रस्तुति तथा क्लासिक सिने यूनिभर्स प्रा.लिको सहकार्यमा निर्माण भइरहेको सिनेमा ‘सिन्दूर’को हाल धमाधम छायांकन भइरहेको छ। पश्चिम नेपालको दाङ जिल्लामा सिनेमा छायांकन भइरहेको छ। लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा तयार भइरहेको सिनेमामा सञ्जिव सार्कीको लगानी छ। सिनेमाका कार्यकारी निर्माता दिनेश सिंह महरा हुन् ।
यसैबिच, यो सिनेमामा अब नायक विपिन कार्की र नायिका निरुता सिंहको प्रवेश भएको छ। सिनेमाको छायांकनको सुरुवाती दिनमा नायक पुष्प खड्का र नायिका प्रशंसा रायमाझीको मात्र नाम सार्वजनिक भएको थियो। अब, सिनेमामा चर्चित दुई अनुहारको प्रवेश भएको जानकारी निर्माणपक्षले गराएको छ। सिनेमाका निर्देशक सुनारका अनुसार, निरुताले केही दिनमै छायांकन सुरु गर्नेछिन् भने विपिनले दशैंपछि सिनेमाको छायांकन सुरु गर्नेछन्। यी दुईको भूमिकाबारे भने केही पनि खुलाइएको छैन।
संकल्प भुजेलको छायांकन रहेको यो सिनेमामा प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकालको संगीत छ। प्रकाश हमाल निर्माण प्रमुख रहेको सिनेमामा करण बहादुर साउदको मुख्य सहायक निर्देशन तथा रामजी लामिछानेको नृत्य निर्देशन छ।
यो सिनेमामा रोहित वली र विकेश लामा प्रोडक्सन म्यानेजरको रुपमा छन्। एनवी महर्जनको एक्सन रहेको सिनेमामा मदन सुरखेतीको सह–लेखन छ। सिनेमाको प्रदर्शन मिति भने तय गरिएको छैन।
एक महिनाको सेड्यूल तयार गरेर सिनेमाको छायांकन भइरहेको छ। यो सिनेमाले सामाजिक कथावस्तुलाई उठान गरेको छ। एक महिलाका लागि सिन्दूरको महत्व कति छ भन्ने कथालाई यो सिनेमामा देखाइने निर्देशक सुनारले जानकारी दिए।