



सिनेसुत्र, बिराटनगर- सन्तोष सेनको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘बलिदान’को छायांकन शुभारम्भ गरिएको छ।
हरितालिका तीजको अवसर पारेर शुक्रबार मोरङको सुन्दरहरैंचास्थित पाथीभरा माताको मन्दिरमा विधिपूर्वक पूजा सम्पन्न गरियो।
आगामी शनिबार मोरङको इटहरीमा सिनेमाको पहिलो दृश्य खिचिने कार्यक्रम छ, जसमा अभिनेत्री ऋचा शर्मा र केही बाल कलाकारहरूको उपस्थिति रहनेछ।
निर्देशक सेनका अनुसार, केही दिनपछि समीर भट्ट, अर्पण थापा, सौगात मल्ल, र दिव्य देव लगायतका कलाकारहरूको छायांकन सुरु हुनेछ।
“बलिदानको निर्माणका लागि लामो समयदेखि हामीले अथक परिश्रम र गहिरो अनुसन्धान गरेका छौं। अब प्रविधि पूजा गर्दै प्रोडक्सनमा प्रवेश गरेका छौं। भारतका प्रसिद्ध प्राविधिकहरू र नेपालका सम्पूर्ण प्राविधिक एवं कला विभागका सदस्यहरूको साथमा, हरितालिका तीजको उपयुक्त दिनमा क्यामेरा र अन्य उपकरणहरूको पूजा गरेर ‘बलिदान’को यात्रा सुरु गरेका छौं,” सेनले भने।

यो सिनेमा नेपालको भूमि, शोषण, निरङ्कुशता, र समाजका तथाकथित नाइकेहरूको अत्याचारमा आधारित कथा प्रस्तुत गर्छ। सेनले यसलाई महाकथाको रूपमा चित्रण गर्दै, प्रोजेक्टका लागि आफूले कुनै पनि प्रकारको त्याग र बलिदान गर्न तयार रहेको बताएका छन्।
‘बलिदान’को निर्माणमा दक्षिण भारतका चर्चित प्राविधिकहरू सामेल छन्, जसमा द्वन्द्व निर्देशक स्टन्डर साम र छायाकार शरण ऋषि प्रमुख भूमिका खेल्नेछन्। सिनेमामा प्रयोग गरिने लाइट, साउन्ड, र क्यामेरा उपकरणहरू मुम्बईबाट ल्याइएको छ। छायांकनका लागि इटहरीस्थित बिएमसी स्टुडियो र विराटनगर क्षेत्रमा विशाल सेट निर्माण गरिएको छ, जहाँ करिब ६० प्रतिशत छायांकन स्टुडियोमै गरिने योजना छ।
आसुसेन फिल्म्स प्रालि र सन्तोष सेनको प्रस्तुति रहेको ‘बलिदान’का निर्माता पवन ब्राडफोर्ड बिस्ट र सह-निर्माता प्रेम पुरी हुन्।
