‘आ बाट आमा २’ सम्पादनमा साहिल खानको विशेष मिहिनेत : साहिल खानको नयाँ सिर्जनात्मक प्रयोग

0 Shares

सिनेसुत्र, बिराटनगर- ‘आ बाट आमा’, ‘नरसिमा’, ‘पार्वती’, ‘आउटल’ हुँदै हाल प्रदर्शनको पर्खाइमा रहेको बहुप्रतीक्षित पारिवारिक चलचित्र ‘आ बाट आमा २’ सम्म आइपुग्दा सम्पादक साहिल खानले करिब २० वटा फिचर सिनेमा को पूर्ण सम्पादन पूरा गरिसकेका छन्। ४५० भन्दा बढी टिजर तथा ट्रेलर काटेर दृश्य–प्रचारमा आफ्नो बेग्लै मानक बनाएका खानका लागि पूर्ण सिनेमा सम्पादन र टिजर-ट्रेलर निर्माण दुई नितान्त फरक कलात्मक विधा र साधना हुन्।

सिनेमा सम्पादनको प्राविधिक तथा सिर्जनात्मक पक्षबारे गहन अनुभव साट्दै साहिल खानले पूर्ण सिनेमा सम्पादन गर्दा निकै धेरै समय, धैर्य र बहुपक्षीय समन्वय आवश्यक पर्ने बताएका छन्। एउटा पूर्ण सिनेमा को सम्पादन टेबुलमा बस्दा स्क्रिप्टको मर्म, कथाको न्यारेसन, निर्देशकको सोच (Director’s POV) र स्वयं सम्पादकको दृष्टिकोण (Editor’s POV) बीच निरन्तर अन्तरसंवाद हुनुपर्ने उनको अनुभव छ।

“सिनेमा सम्पादन गर्न लामो समय लाग्छ। त्यहाँ स्क्रिप्टको मर्मलाई समात्नुपर्छ, निर्देशकको भिजनसँग तालमेल मिलाउनुपर्छ र दर्शकको आँखा कतै नबिझाउने गरी दृश्यको प्रवाह (Pace) मिलाउनुपर्छ। हरेक दृश्य, भावना र कथाको गतिमा निर्देशक र लेखकसँग गहन छलफल गरेर मात्र अगाडि बढ्नुपर्ने भएकाले सिनेमा सम्पादन निकै अनुशासित, जिम्मेवार र जटिल विधा हो,” साहिल भन्छन्। अर्कोतर्फ, टिजर र ट्रेलर सम्पादन गर्दा निर्देशकको दृष्टिकोण र कथाको पृष्ठभूमि रहने भए पनि सम्पादकले आफ्नो व्यक्तिगत सिर्जनशीलता (Personal Creativity) लाई खुला रूपमा प्रयोग गर्न पाउने खान बताउँछन्।उनका अनुसार टिजर-ट्रेलरमा कथालाई २-३ मिनेटको रोमाञ्चक ढाँचामा ढाल्न सम्पादकको कल्पनाशीलता र स्टोरीटेलिङ बढी हाबी हुन्छ। टिजर-ट्रेलर काट्दा भने आफ्नो व्यक्तिगत क्रिएटिभिटी लगाउन पाइन्छ र यसमा काम गर्दा छुट्टै मजा आउँछ। सीमित समयभित्र सिनेमाका उत्कृष्ट पार्टहरू छानेर दर्शकको ध्यान तान्ने र कौतुहलता जगाउने गरी दृश्य भाषा निर्माण गर्न पाइने भएकाले यसको सिर्जनात्मक प्रक्रिया निकै रोमाञ्चक हुन्छ, उनले प्रस्ट्याए।

पहिलो भाग ‘आ बाट आमा’ आफैँले सम्पादन गरेर बक्स अफिसमा १३ करोडभन्दा बढीको ऐतिहासिक व्यापारको साक्षी बनेका साहिल यतिबेला ‘आ बाट आमा २’ को अन्तिम सम्पादनमा व्यस्त छन्। सिनेमाको टिजर र पहिलो गीत ‘अचेल किन कान्छी’ दुवैले युट्युबमा ५० लाख (५ मिलियन माथि) भ्युज कटाएर रेकर्ड बनाइसकेका छन्।

टिजरमा आफ्नो सिर्जनात्मक प्रयोगले दर्शकको मन जितिसकेका साहिलले पूर्ण सिनेमामा पनि स्क्रिप्ट, भावना र दृश्य प्रवाहको सुन्दर सन्तुलन मिलाइएको बताएका छन्। चन्द्र पन्तको निर्देशन र पल शाह-मलिका महतको मुख्य अभिनय रहेको यो पारिवारिक सिनेमा आगामी असोज ३० गते बडादशैँको अवसरमा देशभरका सिनेमाघरहरूमा प्रदर्शन हुँदैछ। साहिल खानको चुस्त दृश्य संयोजनले सिनेमालाई प्राविधिक र भावनात्मक दुवै हिसाबले थप उत्कृष्ट बनाएको टिमको विश्वास छ।

सम्बन्धित समाचारसबै