सौगात मल्लको ‘जुबा’को छायांकन सम्पन्न : ९० दिनमा सकियो सुटिङ

0 Shares

सिनेसुत्र, बिराटनगर- सौगात मल्लको मुख्य भूमिका रहेको सिनेमा ‘जुबा’को छायांकन सम्पन्न भएको छ । अस्त्र फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमाको छायांकन ९० दिनमा पूरा भएको निर्माण टिमले जानकारी दिएको छ ।

सिनेमाका दृश्यहरू नेपालको सर्लाही, दाप्चा, काठमाडौं र भक्तपुरसँगै भारतको राजस्थानमा छायांकन गरिएको हो । निर्माण टिमका अनुसार निर्धारित तालिकाभन्दा बढी समय लिएर सिनेमाको कथावस्तु र दृश्यको आवश्यकताअनुसार छायांकन गरिएको छ ।

कलाकार तथा प्राविधिकको मेहनत र सहकार्यमा छायांकन सम्पन्न भएको जनाउँदै निर्माण टिमले अब पोस्ट-प्रोडक्सनमा पनि पर्याप्त समय र ध्यान दिने बताएको छ । दर्शकलाई उत्कृष्ट सिनेमा प्रस्तुत गर्ने उद्देश्यले निर्माणका हरेक चरणमा गुणस्तरलाई प्राथमिकता दिइएको टिमको भनाइ छ ।अस्त्र फिल्मसको ब्यानरमा निर्मित सिनेमा ‘जुबा’की निर्मात्री सजना थापा हुन् भने सहनिर्माता शेखर पाण्डे हुन् । सिनेमाको कथा तथा निर्देशन प्रकाश कर्णको रहेको छ भने लेखन वर्षा पौडेलले गरेकी छन् । सिनेमामा सौगात मल्लसँगै सोफी धरेल र सुधन पोखरेल मुख्य भूमिकामा छन् । सोफीले यसै सिनेमाबाट अभिनयमा डेब्यु गर्दैछिन् । सुधनको यो तेस्रो सिनेमा भए पनि मुख्य भूमिकामा भने पहिलो हो । उनले यसअघि अभिनय गरेका दुई सिनेमा प्रदर्शन हुन बाँकी छन् ।

‘जुबा’को निर्माण घोषणासँगै तीनवटा क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको थियो । ती पोस्टरमा सौगातको एकल लुक्स, पीसीओबाट फोनमा कुराकानी गरिरहेको दृश्य तथा सिगारसहितको सुधनको लुक्स प्रस्तुत गरिएको थियो । सुधनको प्रस्तुतिले उनको भूमिका खलपात्रको हुन सक्ने संकेत दिएको छ । कलाकारको पहिरन, गेटअप र दृश्य परिवेशले सिनेमाको कथा करिब दुई दशकअघिको समयसँग सम्बन्धित हुन सक्ने झल्को दिएका छन् । यद्यपि, विस्तृत कथावस्तु निर्माण टिमले खुलाएको छैन ।

सिनेमाको प्रदर्शन मिति भने हालसम्म तय गरिएको छैन । पोस्ट-प्रोडक्सनको प्रगतिसँगै उपयुक्त प्रदर्शन मिति निर्धारण गरी छिट्टै सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ ।

सम्बन्धित समाचारसबै