अनमोल र प्रिन्सीको प्रेमिल केमेस्ट्री : भुवन केसी निर्देशित ‘बाटुलो जुन’को पहिलो गीत सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- भुवन केसीको निर्देशनमा निर्माण भएको सिनेमा ‘बाटुलो जुन’को पहिलो गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ घटस्थापनाको साइत पारेर सार्वजनिक गरिएको छ। गीतमा युग भुसालको शब्द तथा संगीत, तृषा चटर्जी र हिमांशु जान शर्माको स्वर छ। गीतको भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका हुन्।

भुवन केसीका सिनेमाहरू निर्माणको भव्यताका लागि चिनिन्छन्। यही भव्यताभित्र पर्छन् उनले छान्ने गीत र तिनको छायांकनमा देखिने उदारता। ‘मेरो मन चोर्यौ सुटुक्कै’मा पनि उनले आफ्नो पुरानो छविलाई निरन्तरता दिएका छन्। गीतको अडियो श्रुतिमधुर छ भने भिडियो पनि उत्तिकै रोचक तरिकाले निर्माण गरिएको छ। आम गीतभन्दा यो गीतको भिडियोले टिजरमा देखिएको कथा र कथाको परिवेशलाई अगाडि बढाउने काम गरेको छ। गीतमा देखिने खोला किनार, घुम, डन्डिबियो र मकैबारीजस्ता छायांकनस्थलले दर्शकलाई पुरानो समयमा फर्काएका छन्।गीतमा सिनेमाका मुख्य दुई कलाकार नायक अनमोल केसी र नव-नायिका प्रिन्सी खतिवडा फिचर्ड छन्। टिजरमा अनमोलको लुक सार्वजनिक भएसँगै धेरैले उनलाई उनकै पिता भुवन केसीको झल्को आएको प्रतिक्रिया दिएका थिए। यो गीतले त्यो धारणालाई अझ बल पुर्‍याउने अनुमान गर्न सकिन्छ। किनकि गीतमा अनमोलको अदाले भुवन केसीकै पुराना गीत हेरेको महसुस गराउँछ। यही सिनेमाबाट डेब्यु गरेकी प्रिन्सीले पनि भुवन केसीको छनोटमा पर्नुको कारण देखाएकी छन्। गीतका शब्द-शब्दमा उनले देखाएको एक्सप्रेसन र अदाले पुरानो समयकी कृष्टि केसीको झल्को दिएका छन्। भुवन केसीको दोस्रो निर्देशकीय भूमिका रहेको यस सिनेमामा भुवन केसी र गरिमा पन्तको पनि अभिनय छ।

सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको यो सिनेमा आगामी कात्तिक २६ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ। सिनेमामा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पाश्र्व संगीत छ। सिनेमामा प्रदीप श्रेष्ठ एसोसिएट निर्देशकका रूपमा रहेका छन्। यो सिनेमालाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन्। विवेक थापा सिनेमाका सह-निर्माता हुन्।

सम्बन्धित समाचारसबै