गायक सन्देश सुवेदीको ‘अलि अलि बोल्दैमा’ को म्युजिक भिडियो छायांकन सम्पन्न, बडादशैंको टीकामा सार्वजनिक हुने

0 Shares

सिनेसुत्र, बिराटनगर- गायक सन्देश सुवेदीको नयाँ गीत ‘अलि अलि बोल्दैमा’ को म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ। विराटनगरका विभिन्न स्थानमा लगातार तीन दिनसम्म छायांकन गरिएको भिडियोमा विराटनगरकै स्थानीय कलाकारहरूको अभिनय देख्न सकिनेछ।

म्युजिक भिडियोमा साहिल खान र ग्रेसी मास्केको मुख्य अभिनय रहेको छ। त्यस्तै, लक्की खवास, विक्की घिमिरे, मनीष कटुवाल, प्रदीप साडा लगायतका कलाकारले पनि अभिनय गरेका छन्। भिडियोको निर्देशन तथा सम्पादन निश्चल रानाले गरेका छन् भने मनीष कटुवाल र विक्की घिमिरेले कोरियोग्राफी गरेका छन्।

भिडियोको छायांकन ऋतिक साहले गरेका हुन्। गीतको लिरिक्स तथा संगीत गायक सन्देश सुवेदी स्वयंले तयार गरेका हुन् भने संगीत संयोजन उदयराज पौडेलले गरेका छन्। म्युजिक भिडियोको निर्माण एचएस फिल्म्स (HS FILMS) ले गरेको हो।करिब १३ वर्षअघि, १७ वर्षको उमेरमा ‘पागल प्रेमी’ बोलको गीतमार्फत चर्चामा आएका सन्देशले त्यसयता विभिन्न गीतमा आफ्नो स्वर दिँदै आएका छन्। यद्यपि, उनले अपेक्षा गरेअनुसारको सफलता हासिल गर्न नसकेको अवस्थामा नयाँ गीत ‘अलि अलि बोल्दैमा’ मार्फत पुनः दर्शक तथा श्रोताको माया र साथ पाउने आशा राखेका छन्।

यस गीतको म्युजिक भिडियोलाई विशेष मेहनतका साथ तयार गरिएको निर्देशक निश्चल रानाले बताएका छन्। भिडियोका केही झलक तथा गीतको एक अन्तरामा मोडलहरूले नृत्य गरेको प्रचारात्मक भिडियोसमेत सामाजिक सञ्जाल इन्स्टाग्राम र टिकटकमा सार्वजनिक भइसकेका छन्।

गायक सुवेदीले नयाँ गीतमार्फत १३ वर्षअघि ‘पागल प्रेमी’ बाट पाएको जस्तै माया र समर्थन दर्शक-श्रोताबाट प्राप्त गर्ने अपेक्षा गरेका छन्। ‘अलि अलि बोल्दैमा’ को म्युजिक भिडियो आगामी कार्तिक ४ गते बडादशैंको टीकाको दिन सार्वजनिक गरिने जनाइएको छ।

सम्बन्धित समाचारसबै