सिनेसुत्र, बिराटनगर- चर्चित माता राधिका दाशीले अभिनेत्री दीपाश्री निरौलासँगै इटहरीको इलाइट सिनेमामा प्रदर्शनरत नेपाली सिनेमा ‘छ माया छपक्कै २’ हेरेकी छन्। असोज ३१ गतेदेखि प्रदर्शनमा आएको सिनेमामा माता राधिका दाशीको पात्रसमेत प्रस्तुत गरिएको छ। यही अवसरमा उनलाई सिनेमा हेर्न निम्तो गरिएको थियो।
सिनेमा हेर्ने क्रममा दीपाश्री निरौलाको पात्र पर्दामा देखिँदा आफूलाई नै पर्दामा देखिरहेको महसुस भएको माता राधिका दाशीले बताएकी छन्। आफ्नो पात्रलाई सिनेमामा कसरी प्रस्तुत गरिएको छ भन्ने कुरा पर्दामै हेर्न पाउँदा उनका लागि यो अनुभव विशेष बनेको थियो।
अभिनेत्री दीपाश्री निरौला अहिले आफ्नो गृह नगर विराटनगरसहित पूर्वका विभिन्न सहरमा पुगेर ‘छ माया छपक्कै २’ को प्रचारप्रसार तथा दर्शक भेटघाटमा व्यस्त छिन्। यही अवसरमा माता राधिका दाशीलाई पनि सिनेमा देखाइएको हो।
दीपेन्द्र लामाको निर्देशन तथा कथा रहेको ‘छ माया छपक्कै २’ मा दीपकराज गिरी, केकी अधिकारी, सनीषा भट्टराई, प्रकाश घिमिरे, रमा थपलिया, कर्मा शाक्य, रायन गिरी, विष्णु सापकोटा, रजनी केसी, मेक्सम गौडेल र शारदा गिरी (काली आमा) लगायत कलाकारको अभिनय रहेको छ।
सिनेमा प्रदर्शनसँगै कलाकारहरूको दर्शक भेटघाट र सिनेमामा प्रस्तुत पात्रहरूप्रति दर्शकको चासोले ‘छ माया छपक्कै २’ को चर्चा थप बढाएको छ।
